बर्खास्त गरिएका जसपाका चार जनालाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश

काठमाडौं । जनता समाजवादी पार्टीका उपेन्द्र यादव समूहले बर्खास्त गरेका चार जनालाई प्रदेशसभा सदस्यमा पुनर्वहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाबाट निर्वाचित चार सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशका प्रदेशसभा सचिवालयको निर्णय संविधान र कानूनसम्मत नभएको ठहर गर्दै पुनर्वहालीको आदेश दिएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई सघाएको आरोपमा यादवले पार्टीको बहुमतको निर्णायले प्रदेशसभा सदस्यबाट सन्तोष पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डेलाई हटाउन प्रदेशसभा सचिवालयलाई पत्राचार गर्नु भएको थियो । यादवको पत्रका आधारमा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले वैशाख १७ गते उहाँहरुलाई पदमुक्त गर्नु भएको थियो । यादवले बहुमतको बलमा निर्णय गरेपछि जसपाका अध्यक्ष महन्थ ठाकुरले उहाँहरुलाई प्रदेशसभा सदस्य पदबाट नहटाउन गरेको पत्राचार सभामुख घर्तीले वेवास्ता गर्नु भएको थियो ।

पार्टी र सभामुखको निर्णयविरुद्ध बर्खास्त गरिएका चारै जनाले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो । उहाँहरु अहिले लुम्बिनी प्रदेशका मन्त्री हुन् । जसपाको संसदीय दलको विधान नबनेको र ६ जना प्रदेशसभा सदस्यमध्ये ४ जनालाई बर्खास्त गरिएको थियो । संसदीय दलका बहुमत सदस्यलाई अल्पमत सदस्यको सिफारिसमा कारबाही गर्नु प्राकृति न्यायको सिद्धान्त विपरित भएको सुनुवाहीका क्रममा जिकिर गरिएको थियो ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker