औषधिसहित संक्रमितका घरघर पुग्दै बेलबारीकी उपप्रमुख पराजुली

बेलबारी । कोरोना भाइरसको प्रकोप बढेसँगै बेलबारी नगरपालिकाले आफ्ना गतिविधिहरुलाई थप सक्रिय बनाएको छ।

आज बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीको नेतृत्वमा बेलबारी आयुर्वेद शाखा निरीक्षक कुलानन्द यादवसहितको टोलीले नगरभित्रका संङ्क्रमितहरुलाई घरघरमा पुगेर भेटेको छ ।

विभिन्न प्रकृतिका आयुर्वेदिक औषधीसहित पुगेको नगरपालिकाको टीमले सङ्क्रमितहरुको स्वास्थ्य अवस्था बुझ्नुका साथै विभिन्न आयुर्वेदिक औषधी वितरण गरेको छ।

बेलबारी नगरपालिका आयुर्वेद शाखा,आयुर्वेद औषधालयद्वारा कोरोना सङ्क्रमितहरुलाई रोग प्रतिरोधक, क्षमता अभिवृद्धि तथा सामान्य लक्षणहरु न्यूनीकरणका लागि अश्वगन्धा चूर्ण, गर्जोचूर्ण, सितोपलादी, जेठीमधू, त्रिकटु चूर्ण आदि वितरण गरिएको आयुर्वेद शाखा प्रमुख कुलानन्द यादवले बताउनुभयो । यस अघि शाखाले बेलबारी नगरपालिकाले संचालन गरेको आइसोलेशनमा संक्रमितलाई सेवा उपलब्ध गराइएको छ भने क्रमशः होम आइसोलेशनमा रहने थप संक्रमितहरुलाई पनि निरन्तर सेवा प्रदान गर्ने कार्यक्रम रहेको, उहाँले जानकारी दिनुभयो ।

औषधी वितरण गर्दै बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले कोरोना भाइरसको असरका कारण नागरिकहरुमा भयानक त्रास सिर्जना भएकोले जनप्रतिनिधि थप सक्रिय हुनुपर्ने बताउनुभयो । ‘यसबेला स्थानीय सरकारले अभिभावकको भूमिका निर्वाह गर्न चुक्नु हुँदैन।’ उपप्रमुख पराजुलीले भन्नुभयो, ‘नागरिकहरुलाई विपतको बेला स्थानीय सरकार छ भन्ने विश्वास दिलाउन पनि जनप्रतिनिधि सङ्क्रमितको आँगनमा पुग्न जरुरी रहेकाले हामी घरघर पुगेके हौँ ।’

नागरिकको जीवन बचाउने हाम्रो प्रमुख दायित्व रहेको भन्दै उहाँले विकास निर्माणका काम केही समयलाई पन्छाएर भएपनि नागरिक बचाउने अभियानमा लागेको बताउनुभयो । ‘हाम्रो चाह औषधी उपचार अभावकै कारण कुनै नागरिकले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने हो, हामी सोही अनुशार खट्छौं’ उपमेयर पराजुलीले भन्नुभयो ।

कोरोना भाइरसका कारण बेलबारीमा हाल १२३ जना सङ्क्रमित छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker