राष्ट्रियसभा सदस्यका लागि आज मतदान हुँदै

काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनको मतदान आज हुँदैछ । त्यसकालागि अहिले विहान ९ बजेदेखि मतदान हुँदैछ । बागमती प्रदेशका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

नेकपा एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादललाई नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यबाट कारबाही गरेपछि रिक्त स्थानमा उप–निर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा एमालेले बादललाई नै उम्मेदवार बनाएको छ । स्वतन्त्र उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटा र नेपाल मजदूर किसान पार्टी ‘नेमकिपा’ले कृष्णगोपाल तामाङलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस र माओवादीले देवकोटालाई मत हाल्ने निश्चित भएको छ ।

एमालेका माधवकुमार नेपालको प्रस्तावमा कांग्रेस र माओवादीसमेतको सहमती लिइ देवकोटा उम्मेदवार बने पनि पछिल्लो समयमा नेपाल र पार्टी अध्यक्ष केपी ओलीबीचको सहमति भएपछि एमालेभित्रको माधव पक्षलाई सूर्य चिह्नमा मत हाल्न दवाव छ । सूर्य चिह्न बादलले पाउनुभएको छ ।

माधव नेपालले हिजो एक विज्ञप्ति जारी गर्दै आफूपक्षीय मतदातालाई स्वविवेक प्रयोग गर्न अनुरोध गर्नुभएको छ । राष्ट्रियसभा उपनिर्वाचनका लागि बागमती प्रदेशबाट १ सय १० प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उप–प्रमुख २ सय ३८ जना मतदातामा सहभागि हुनुहुनेछ । मकवानपुरको हेटौंडा उप–महानगरपालिका ४ स्थित भुटनदेवी माविमा दुई मतदान केन्द्र तोकिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker