सुरक्षाकर्मीमा फैलिँदै कोरोना संक्रमण

१६५ जना सुरक्षाकर्मी संक्रमित

विराटनगर । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएदेखि सीमा क्षेत्रको निगरानीका साथै मास्क बितरण गर्दै सचेतना फैलाउँदै निषेधाज्ञा कार्यान्वयनमा दैनिक खटिदै आएका नेपाल र सशस्त्र प्रहरीमा पनि कोरोना संक्रमण फैलिन थालेको छ ।

पछिल्लो समय आफूलाई कोरोना संक्रमणको चिन्ताभन्दा सर्वसाधारणलाई संक्रमणबाट जोगाउन भिडभाड नियन्त्रण अभियानमा जुटेका प्रदेश १ का प्रहरी अधिकारीहरु धमाधम संक्रमित हुन थालेका हुन् ।

प्रदेश १ प्रहरी कार्यालय अन्तर्गत कार्यरत १ सय १३ जना प्रहरी अधिकारीहरु हिजोसम्ममा संक्रमित भएका हुन् । जसमध्ये ८ जना संक्रमण मुक्त भएर डियूटीमा खटिसकेका छन् भने अन्य आइसोलेसनमा रहेको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

‘निषेधाज्ञा कडाईका साथ पालना गराउन जनचेतना जगाउन र मास्क नलगाउने र भिडभाड गर्नेलाई जरिवाना गर्न प्रहरी खटिएकाले संक्रमित भएका छन्,’उहाँले भन्नुभयो, ‘अहिलेको महामारीका वेला आफ्नो सुरक्षाभन्दा जनताको जिउ ज्यानको सुरक्षाका लागि प्रहरी अधिकारीहरु खटिदा संक्रमण बढ्दै गएको हो ।’

भारतमा उच्च दरमा कोरोना फैलिरहेकाले संक्रमणको जोखिम बढीरहेको बेला सीमा क्षेत्रमा पनि प्रहरी अधिकारीहरुलाई खटिनै पर्ने भएकाले संक्रमण हुनबाट जोगिन नसकेको श्रेष्ठको भनाई छ । सीमामा खटिएका प्रहरी अधिकारीहरुले भारतबाट आउनेहरुको पनि सम्पर्कमा पुगेकाले प्रहरीमा संक्रमणको दर बढेको हो ।

कोरोना महामारीका वेला निषेधाज्ञा कार्यान्वयनका लागि सवारी साधन नियमनका लागि सडकमा खटिएका यस प्रदेशमा जिल्ला ट्राफिक प्रहरी मोरङका प्रमुखसहित २६ जना ट्राफिक प्रहरी अधिकारी संक्रमित हुनुभएको छ ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख संजिब शर्माले संक्रमित भएकामध्ये हिजोसम्ममा ४ जना संक्रमण मुक्त भएर नियमित काममा फर्किसकेका छन भने अन्य आइसोलेसनमा छन् ।

‘कोरोना संक्रमण न्यूनीकरणका लागि निषेधाज्ञा कडाईका साथ कार्यान्वयन गर्न ट्राफिक प्रहरी अधिकारी नियमित सडकमै खटिएकाले संक्रमित भएका छन्,’ उहाँले भन्नुभयो, ‘निषेधाज्ञा उलंघन गरेर सवारी साधन चलाउनेहरुलाई कारवाही गर्ने क्रममा धेरै जनाको सम्पर्कमा पुगेकाले पनि संक्रमण हुनेको संख्या बढेको हो ।’

सीमा क्षेत्रको निगरानीको जिम्मेवारी सम्हाल्दै आएका प्रदेश १ का २६ जना सशस्त्र प्रहरी अधिकारी संक्रमित भएका छन् । संक्रमितमध्ये एक जनाको स्वास्थ्य अवस्था गम्भिर भएपछि हेलिकप्टरमा थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

३ जना निको भएर काममा फर्किएको र २२ जना आइसोलेसनमा रहेको सशस्त्र प्रहरी नेपाल प्रदेश १ बराह बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक बंशीराज दाहालले बताउनुभयो ।

सीमाको प्रत्यक्ष निगरानीमा खटिएकाले भारतबाट आउनेहरुको प्रत्यक्ष सम्पर्कमा पुगिने अवस्था रहेकाले संक्रमितको संख्या बढ्दै गएको उहाँले बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker