कोरोना संक्रमणको चेन ब्रेक नहुनुमा स्थानीय तह जिम्मेवार

विराटनगर । दोस्रो चरणको कोरोना लहरमा स्थानीय तह जिम्मेवार नहुँदा कोरोना संक्रमणको चेन ब्रेक हुन नसकेको चिकित्सकहरुको भनाई छ ।

प्रदेश १ सभाको सामाजिक विकास समितिले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि आयोजना गरेको छलफलमा चिकित्सकहरुले संक्रमितहरुको स्थानीय स्तरमै स्वाब परीक्षण नहुँदा उहाँहरु अस्पताल अस्पताल घुमेर पिसिआर परीक्षण गराउन जानुपर्ने अवस्थाले झन संक्रमण फैलिरहेको बताउनुभयो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा. मोहनचन्द्र रेग्मीले संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन गरेर स्थानीय तहले व्यवस्थित नगरेसम्म बढ्दै गएको संक्रमणको चेन ब्रेक गर्न कठिन हुने बताउनुभयो ।

‘स्थानीय तहहरुले संक्रमित पहिचान गरेपछि आइसोलेसनमा व्यवस्थित राखेर कन्ट्याक्ट टे«सिङ गरी स्वाब संकलन गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘स्थानीयस्तरमा होमआइसोलेसन प्रभावकारी नभएकाले कोरोना संक्रमणको चेन ब्रेक हुन सकिरहेको छैन ।’

ग्रामिण तथा सहरी क्षेत्रका सबै संक्रमितको घर तोकिएको मापदण्ड अनुसारको होमआइसोलेसनका लागि उपयुक्त नरहेको अवस्थामा स्थानीय तहमाव्यवस्थित आइसोलेसन आवश्यक रहेको कोशी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. चुमन दासले बताउनुभयो ।

‘होमआइसोलेसनमा बसेका संक्रमित र परिवारका अन्य सदस्य एउटै कोठामा बस्ने र एउटै शौचालय, बाथरुम प्रयोग गर्दा परिवारकै सबै सदस्य संक्रमित भइरहेको अवस्था छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले स्थानीय तहहरुले जिम्मेवार भई व्यवस्थित र प्रयाप्त आइसोलेसन निर्माण गरेर संक्रमित पहिचान भएपछि राखे मात्रै बढ्दो संक्रमणको चेन ब्रेक संभव हुन्छ ।’

अहिले निषेधाज्ञा जारी भए पनि उपचार र पिसिआर परीक्षण लगायतको नाममा सर्वसाधारणको अवागमन भइरहेकाले पनि चेन ब्रेकमा समस्या भएको उहाँको भनाई थियो ।

छलफलमा सहभागी मोरङ, झापा र सुनसरीका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा प्रभावकारी बनाउनुका साथै अस्पतालहरुमा अक्सिजन आपूर्ति, कालोबजारीलगायतका क्षेत्रमा कडाई गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker