सरकारले तोकेको शुल्कमा गर्दैन निजी अस्पतालले उपचार, सरकारी नै संक्रमितको पहिलो रोजाई

डिएन पथिक,

मोरङ । सरकारले निर्धारण गरिदिएको शुल्कमा निजी अस्पतालले कोरोना संक्रमितको उपचार नगर्दा अहिले सरकारी अस्पतालहरु भरिभराउ छन् । सरकारी अस्पतालमा भर्ना हुन चाहने विरामीको ‘क्यू’ लाग्ने गरेको छ । नीजि अस्पतालमा शैय्या (बेड) खालि हुँदा पनि सकेसम्म संक्रमितहरु सरकारी अस्पतालबाट नै उपचार गर्न चाहान्छन् ।

प्रदेशसभाको सामाजिक विकास समितिले प्रदेशभरिका कोभिड अस्पतालहरुको अनुगमन गरेपछि यस्तो खुल्न आएको हो । अनुगमनका क्रममा बिरामीसँग बढी शुल्क र धरौटी लिने गरेकाले निजी अस्पतालभन्दा संक्रमितहरु सरकारी अस्पतालमा भर्ना हुने क्रम बढेको हो ।

संक्रमित बिरामीहरु सरकारी अस्पतालमा बेड कहिले खाली होला भन्दै प्रतिक्षा गरेर होमआइसोलेसनमा बस्ने, तर निजी अस्पतालमा भर्ना हुन नचाहने हुँदा नीजि अस्पतालमा बेड खाली र सरकारीमा भिड लाग्ने गरेको समितिको ठहर छ । समिति सदस्य तथा कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विराट मेडिकल शिक्षण अस्पताल र बी एण्ड सी अस्पतालले धरौटी जम्मा गरेपछि मात्र बिरामी भर्ना लिने गरेको पाइएको बताउनुभयो ।

‘विराट र बी एण्ड सी अस्पतालले संक्रमित बिरामीसँग सरकारले तोकेको भन्दा अत्यधिक शुल्क असुल्ने गरेको भेटिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ उपचार गर्न गएको बिरामी शुल्क सुन्दा नै, उपचार नै नगरी मर्छु भन्ने अवस्था पुग्छ।’ उहाँले नोवेल अस्पतालमा पिपिई, औषधी र खाना संक्रमित लाई नै किन्न लगाउने गरेको बताउनुभयो ।

यस्तै धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सबैभन्दा गम्भिर लापरवाही गरिरहेको समितिको ठहर छ । कार्कीले प्रदेश र संघीय सरकारको करोडौं बजेट लिएर प्रतिष्ठानले अनुगमन गर्दासम्ममा ३० शय्याको मात्रै कोभिड अस्पताल सञ्चालन गरेको पाइएको बताउनुभयो ।

यता विराटनगरस्थित कोशी अस्पतालले सरकारी निर्देशन अनुसार अस्पतालका ५० प्रतिशत बेडलाई कोभिड वार्डमा परिणत गरेको छ । कोशी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. चुमनलाल दासले मेडिकल वार्डमा तीन दिन अघिबाट ६४ बेडको कोभिड वार्ड सुरु गरेको बताउनुभयो । कोभिड वार्डमा ५ आईसियू, २५ एचडियू र बाँकी बेड अक्सिजनसहितका छन् ।

कोभिड वार्डमा शनिबारसम्ममा आईसियू र एचडियू बेडमा मा ३० जना बिरामी भरिएको र १० जना आइसोलेसनमा रहेका दासले बताउनुभयो । उहाँका अनुसार संक्रमित बिरामीको चाप थामि नसक्नु छ । तर एकै पटक सबै बेडमा बिरामी भर्ना गर्दा सञ्चालनमा समस्या हुने भएकाले क्रमिक रुपमा भर्ना गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘बिरामीको चाप हेर्दा अबको दुई तीन भित्रै सबै बेड भरिने देखिन्छ ।’ संक्रमित बिरामी आतिएर र समन्वय नगरी आउँदा बेड व्यवस्थापनमा समस्या हुने गरेको भन्दै उहाँले समन्वय गरेर मात्र आउन आग्रह समेत गर्नुभएको छ ।

यस्तै, प्रदेश सरकार मातहत सञ्चालनमा रहेको ९६ बेडको कोशी कोभिड १९ उपचार केन्द्रमा पनि हिजो शनिबार ८७ जना संक्रमित बिरामी भर्ना भएर उपचार गराइरहेका छन् ।

उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजबंशीले आईसियू–भेण्टिलेरसहितको २१, एचडियू ४७, अक्सिजनसहितको १५ र १३ वटा सामान्य बेडमध्ये ९ वटा बेड मात्र खाली रहेको बताउनुभयो । अहिले दैनिक १० देखि १५ जना संक्रमित बिरामी भर्नाका लागि लाइनमा हुने गरेको उहाँले जानकारी दिनुभयो ।

यस्तै, झापाको मेची अस्पतालमा हाल १ सय २५ बेडको कोभिड अस्पताल सञ्चालनमा छ । त्यसमा ७५ वटा अक्सिजनसहितको बेडमा ८६ जना बिरामी भर्ना रहेको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. पिताम्बर ठाकुरले बताउनुभयो । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम र झापाका बिरामीको चाप अत्यधिक रहेको उहाँको भनाई छ ।

सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसियू १५, एचडियू २५, भेन्टिलेटर १० र अक्सिजनसहितको ५० गरी १ सय बेडको अस्पताल सञ्चालनमा छ । तर हिजोसम्म ४४ जना बिरामी भर्ना भएका छन् ।

प्रतिष्ठानका रजिष्टार डा. मोहनचन्द्र रेग्मीले तेस्रो तहको बिशिष्टिकृत सेवा दिने अस्पताल रहेकाले जटिल बिरामीहरु भर्ना लिएर उपचार गर्दै आएको बताउनुभयो । उहाँले थप १८० बेडको कोभिड अस्पताल बिस्तारको काम भइरहेको र एक साताभित्रै सञ्चालनमा आउने बताउनुभयो ।

यस्तै, नीजि अस्पतालतर्फ विराटनगरको नोवेल अस्पतालमा रहेको ३९ आईसियूसहित १६१ बेड सबै बिरामीले भरिएका छन् । अस्पतालका प्रबन्धक नारायण दाहालले पछिल्लो समय दैनिक २० जनाभन्दा बढी संक्रमित फर्काउनु परिरहेको बताउनुभयो ।

मोरङको बुढीगंगास्थित विराट मेडिकल शिक्षण अस्पतालको कोभिड अस्पतालमा आईसियू ६०, पिआईसियू ६, एनआईसियू ३, अक्सिजनसहितको १ सय २७ र सामान्य ७४ गरि २५० बेड सञ्चालनमा छ । त्यसमा १ सय ४७ जना संक्रमित बिरामी अहिले उपचाररत रहेको कोभिड अस्पतालका इन्चार्ज डा. सुनिल देवले बताउनुभयो ।

झापाको बी एण्ड सी अस्पतालमा रहेको २ सय शय्याको कोभिड अस्पतालमा हिजो १ सय ४ जना बिरामी भर्ना छन् । यता विराटनगरस्थित न्यूरो अस्पततालले भने सरकारसँग सम्झौता नै नगरी ३० बेडको कोभिड अस्पताल सञ्चालन गर्दै आएको छ ।

समितिले प्रदेशभरिका अस्पतालहरुको अनुगमन पछि बिरामीको उपचारमा एकरुपता ल्याउन निर्देशन दिएको छ । समिति सभापति सरिता थापाले प्रदेशभरिका निजी अस्पतालहरुमा संक्रमित बिरामीसँग सरकारले तोकेको भन्दा बढी शुल्क असुली भइरहेकोले तत्काल नियमन गर्न निर्देशन दिइएको बताउनुभयो ।

यस्तै ‘प्रदेशमा संक्रमण दर दैनिक बढ्दै गएकाले प्रदेशभरिका अस्पताललाई कोभिड अस्पतालमा परिणत गर्न पनि निर्देशन दिएको भन्दै उहाँले भन्नुभयो ‘स्वास्थ्य सेवा नागरिकको मौलिक हक हो, उपचार अभावमा कुनैपनि नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिनसमेत निर्देशन दिएका छौं ।’

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker