संक्रमितको शव व्यवस्थापनमा स्काउट

विराटनगर । कोरोना संक्रमणको दोस्रो लहरमा ज्यान गुमाउनेको संख्या बढ्दै गएकाले शव व्यवस्थापन चुनौतिपूर्ण बनेको छ । शव व्यवस्थापनका लागि धेरै ठाउँमा जनशक्ती अभाव भइरहेको बेला नेपाल स्काउट प्रदेश १ शव व्यवस्थापनका लागि अघि बढेको हो ।

नेपाल स्काउट प्रदेश १ ले नेपाली सेनाको सहकार्यमा कोरोना संक्रमणको यस प्रदेशका हट स्पट सुनसरी, मोरङ र झापामा एकै पटक ४५ जनालाई शव व्यवस्थापन तालिम दिदै

नेपाल स्काउट प्रदेश १ ले नेपाली सेनाको सहकार्यमा कोरोना संक्रमणको यस प्रदेशका हट स्पट सुनसरी, मोरङ र झापामा एकै पटक ४५ जनालाई शव व्यवस्थापन तालिम सुरु गरेको छ । यसले शव व्यवस्थापनका लागि भइरहेको जनशक्ती अभावलाई पुर्ति गर्न मद्दत पुग्ने स्काउट प्रदेश १ का संयोजक रवि खनालले बताउनुभयो ।

मोरङको विराटनगरस्थित होल्डिङ सेन्टरमा स्काउटमा आवद्ध १५ जना युवायुवतीलाई भैरव गण थलाहाका सह सेनानी राजेन्द्रबहादुर खनालको नेतृत्वमा प्राविधिक, चिकित्सकसहितको ८ जनाको टोलीले शव व्यवस्थापन तालिम दिइरहनु भएको छ ।

संयोजक खनालले नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी र नम्बर २ बाहिनी अड्डा हिलेको सहकार्यमा तीन वटै जिल्लामा कोरोना संक्रमितको शव व्यवस्थापन तालिम स्काउटमा आबद्ध युवायुवतीहरुका लागि सुरु गरेको बताउनुभयो ।

विराटनगरमा शनिबारदेखि, झापामा आइतबारदेखि सुरु भएको र सुनसरीको इटहरीमा सोमबारदेखि चार दिने तालिम सुरु हुने खनालले जानकारी दिनुभयो ।

तालिमका सहभागी प्रशिक्षार्थीहरुलाई व्यक्तिगत सुरक्षाका साथै संक्रमितको शव व्यवस्थापनका लागि सैद्धान्तिक र प्रयोगात्मक गरी २–२ दिनको प्रशिक्षण प्रदान गरिने उहाँले बताउनुभयो ।

उहाँले तालिममा कोरोनाको रोकथाम, नियन्त्रण तथा होल्डिङ एरिया र आइसोलेसन सेन्टरको व्यवस्थापन सम्बन्धी प्रशिक्षण प्रदान गरिने बताउनु भयो ।

प्रशिक्षणपछि केही समय नेपाली सेनासँगै स्काउटका प्रशिक्षार्थीहरुलाई पनि शव व्यवस्थापनमा खटाएर सक्षमता प्रदान गरिने योजना रहेको खनालले बताउनुभयो ।

स्काउट प्रदेश १ ले होमआइसोलेसनमा बसेका संक्रमितहरुलाई स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गर्न २३ जना चिकित्सक र पोषणविद्को नाम तथा नम्बरसहित हेल्पलाइन सेवासमेत सञ्चालन गरिरहेको छ ।

कोरोना महामारीमा गैर सरकारी संघ संस्था अगाडि नबढेको बेला स्काउटले कोरोना संक्रमणको नियन्त्रण, रोकथाम र निदानका लागि अहोरात्र खटिदै आएकाले सर्वसाधारणले भने खुलेर प्रशंसा गर्न थालेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker