खोपको दुरुपयोग, अग्रमोर्चामा खटिने नै दोस्रो डोज खोपबाट बञ्चित

डिएन पथिक,

विराटनगर । प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री तथा उच्चपदस्थ कर्मचारीहरुले आ–आफ्ना नातासम्बन्ध, हितैसी तथा परिचित व्यक्तिहरुलाई कोरोनाविरुद्धको खोप लुकाएर लगाइदिने गर्दा पहिलो ‘डोज’ लगाएकाहरुले दोस्रो ‘डोज’ खोप लगाउनबाट बञ्चित हुनुपरेको छ ।

प्रदेश १ का प्रमुख प्रतिपक्षी कांग्रेसले सर्वसाधारणबाट लुकाएर यस प्रदेशका मुख्यमन्त्रीदेखि कर्मचारीसम्मले आ–आफ्ना नजिकका, नातागोतालाई कोरोनाविरुद्धको खोप लगाउने गरेको आरोप लगाएको छ ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले भारत सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको कोभिशिल्ड खोप प्रदेश प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, प्रदेशका मन्त्री तथा उच्चपदस्थ कर्मचारीहरुले कार्यालय तथा निवासमा आ–आफ्ना नजिकका, नातागोता, कुटुम्बलाई बोलाएर लगाईदिएको आरोप लगाउनु भयो । उहाँले विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले लुकाएर राखेको खोप निकालेर सर्वसाधारणलाई उपलब्ध गराउन ध्यानाकर्षण समेत गराउनु भएको छ ।

‘सरकारले अनुदान सहयोगमा पाएको कोभिशिल्ड खोप कसैको पनि पेवा वा दाइजो होइन’, उहाँले भन्नु भएको छ । सर्वसाधारण भ्याक्सिन नपाएर छटपटाइरहेका बेला प्रदेश सरकारले खोपको ब्रहम्लूट गरिरहेको कार्कीको आरोप छ ।

पहिलो ‘डोज’ लगाएकाहरु दोस्रो ‘डोज’ लगाउने समय पुगिसकेकाले खोप लगाउन नेताहरुको घरघर धाउन बाध्य पारिएको उहाँले बताउनुभयो । प्रमुख सचेतक कार्कीले पहिलो प्राथमिकतामा परेका ९ हजार ३३१ जनाले दोस्रो ‘डोज’ खोप लगाउन नपाएको भन्दै तत्काल व्यवस्थापन मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

पहिलो चरणमा यस प्रदेशका अग्रमोर्चामा खटिने ५२ हजार ९५ जनाले पहिलो ‘डोज’ खोप लगाएका थिए । ति मध्ये हालसम्ममा ४२ हजार ७६४ जनाले मात्रै दोस्रो ‘डोज’ खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले यस प्रदेशमा अहिले ८ सय जनालाई लगाउन पुग्ने मात्रै खोप रहेको बताउनु भयो । यसले अग्रमोर्चामा खटिएका ८ हजार ५ सय ३१ जनाले खोपको दोस्रो मात्रा लगाउनबाट बञ्चित हुने निश्चित झैँ देखिन्छ ।

प्रदेश १ का ३ लाख ९ हजार २४६ ज्येष्ठ नागरिकले पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउने समय भइसकेको निर्देशक बस्नेतले बताउनुभयो । तर भारत सरकारले तत्काल खोप उपलब्ध गराउने अवस्था नभएकाले उहाँहरुले समयमा दोस्रो ‘डोज’ खोप लगाउन नपाउने प्राय निश्चित छ ।

बस्नेतले पहिलो मात्रा लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो मात्रा लगाएपछि खोपको प्रभावकारिता हुने भनिएको तर त्यो अवधिमा धेरैले दोस्रो ‘डोज’ लगाउन नपाउने अवस्था रहेको बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker