कांग्रेसको आरोप : कमिशनको खेलमा सरकारी अस्पताल बन्द राखेर संक्रमितलाई निजीमा पठाइँदै

विराटनगर । प्रदेश १ का प्रमुख प्रतिपक्षी कांग्रेसले प्रदेश सरकारले आफैले बनाएको ८० बेडको सरकारी अस्पताल बन्द राखेर संक्रमित बिरामीलाई निजी अस्पतालमा उपचारका लागि जबरजस्ती पठाउनुमा कमिशनको खेल भएको आरोप लगाएका छन् ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले कोरोना संक्रमण र संक्रमणले मृत्यु हुनेको संख्या बढ्दै गएको अवस्थामा पनि प्रदेश सरकारले आफ्नै लगानीमा बनाएको ८० बेडको कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्र सञ्चालन नगरी बन्द राखेकोले आशंका हुनु स्वभाविक भएको बताउनुभयो ।

‘प्रदेशसभाको सामाजिक विकास समितिले दिएको निर्देशन पश्चात पनि कोभिड १९ उपचार केन्द्र सञ्चालन हुन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘यसबाट प्रष्ट हुन्छ प्रदेश सरकार निजी अस्पतालबाट कमिशन खाएर आफैले निर्माण गरेको अस्पताल बन्द गरी निजी संक्रमित बिरामीलाई उपचार गराउन बाध्य पारिएको छ ।’

कार्कीले जारी गरेको विज्ञप्तीमा प्रदेशवासीको स्वास्थ्य प्रति प्रदेश सरकारले गरेको खेलवाडको कांग्रेस खुलेर बिरोध गरेको उल्लेख छ । जसको फलस्वरुप यहाँका निजी अस्पतालहरुले सरकारले तोकेको शुल्कमा उपचार नगरी संक्रमित बिरामीसँग अतिरिक्त शुल्क असुली रहेको तर प्रदेश सरकार मौन बसेको विज्ञप्तीमा उल्लेख छ ।

उहाँले अबिलम्ब कोभिड १९ उपचार केन्द्र सञ्चालनमा ल्याउनुका साथै उपचारमा एकरुपता कायम गरी सर्वसाधारणको स्वास्थ्योपचारको भरपर्दो व्यवस्था गर्न विज्ञप्तीमार्फत ध्यानाकर्षण गराउनु भएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker