प्रधानमन्त्रीको कदमविरुद्ध मोरङमा दलहरुको मोर्चाबन्दी

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते गरेको संसद विघटनको विरुद्धमा मोरङका राजनीतिक दलहरु गोलबन्द भएका छन् ।

नेपाली कांग्रेस मोरङको जिल्ला कार्यालयमा आज बसेको कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (नेपाल खनाल पक्ष) र जनता समाजवादी पार्टी उपेन्द्र पक्ष समेतको जिल्लास्तरीय बैठकले प्रतिनिधिसभा विघटनको विरुद्धमा मोर्चाबन्दी गरेको हो ।

चारै दलहरुले आज संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको जेष्ठ ७ गते मध्यरातमा चालिएको कदम अलोकतान्त्रिक, असंवैधानिक, जनविरोधी तथा राष्ट्रघाती भएको भन्दै भत्र्सना गरेको छ ।

मुलुक कोभिड महामारीले आक्रान्त भएको विषम परिस्थितिलाई बेवास्ता गरी चालिएको असंवैधानिक कदमका विरुद्धमा न्यायिक एवम् राजनीतिक रूपमा प्रतिवाद गर्न सम्पूर्ण न्यायप्रेमी, जनता तथा सम्पूर्ण लोकतन्त्रवादी शक्तिलाई विज्ञप्तीमार्फत अपिल गरेको छ ।

विज्ञप्तिमा कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, माओवादी केन्द्रका जिल्ला सचिव गणेश उप्रेती, नेकपा एमाले (नेपाल–खनाल पक्ष)का सचिव राजन केसी र जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवले हस्ताक्षर गरेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker