यास चक्रवातको प्रभाव नेपालमा पर्ने, सतर्क रहन आग्रह

विराटनगर । बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली ‘यास नामक चक्रवातमा परिणत भएपछि त्यसको प्रभाव नेपालमा पनि परेको छ । ‘चक्रवात यास’का कारण देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली रहनेछ ।

प्रदेश १ मा विहानैदेखि मौसममा बदली आएको छ । यो चक्रवात उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत भएको र भोलीसम्ममा थप शक्तिशाली हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

चक्रवातको असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने सम्भावना छ । मौसम बदली भई आज अपराह्नपछि प्रदेश १ र बागमती प्रदेशका उच्च हिमाली–पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात–वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले उच्च हिमाली भूभागमा हावाहुरीसमेत हुनसक्ने सम्भावना रहेको भन्दै केही दिनसम्मका लागि पर्वतारोहीलाई मौसमअनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरेको छ ।

महाशाखाका अनुशार भोलीदेखि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने महाशाखाको बुलेटिनमा जनाइएको छ ।

बिहीबार कर्णाली र सुदुरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यो मौसममा मेघगर्जन सहित चट्याङ, हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेको उल्लेख गर्दै महाशाखाले सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker