
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको उभौली पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री राईले आज शुभकामना सन्देश जारी गर्दै विश्व शान्तिका अग्रदूत गौतम बुद्धबाट व्यक्त सत्य वचनहरुको महत्व आजको विश्व परिवेशमा झनै महत्वपूर्ण रहेको बतताउनु भएको हो ।
बुद्धको उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भावबम साथै दीगो शान्ति स्थापना हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री राईले उभौली पर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो ।
हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीबीच बन्धुत्व, भाइचारा र एकताको भावना बढाउन यस प्रकारका चाडपर्वले उर्जा प्रदान गर्दै आएको मुख्यमन्त्री राईको भनाई छ ।
यस प्रकारका मौलिक साँस्कृतिक चाडपर्वहरुले सामाजिक एवम् पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन गर्न मद्दत पुग्दै आएको छ ।
कोरोना संक्रमित दैनिक थपिदै आएको अहिलेको समयमा चाडपर्व खुला र भव्य रुपमा नमनाई सुरक्षित रहन मुख्यमन्त्री राईले सबैलाई आग्रह गर्नुभएको छ ।