मोरङ जिल्ला अदालतले थाल्यो भर्चुअल माध्यमबाट बहस

विराटनगर । जिल्ला अदालत मोरङले आजदेखि भर्चुअल माध्यमबाट बहस शुरु गरेको छ । कारोना महामारीका कारण भौतिक उपस्थिती हुन कठिन भइरहेका बेला जिल्ला अदालतले न्याय सम्पादनको काम प्रभाव हुन नदिन भर्चुअल माध्यमबाटै बहस शुरु गरेको हो ।

आज जबरजस्ती करणी मुद्दाममा जिल्ला न्यायाधिवक्ता तेजबहादुर मगर, अधिवक्ताद्वय भरत थापा र देवेन्द्र कोइरालाले बहस गर्नुभएको छ । जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले कोरोना संक्रमणको जोखिम उच्च भएकोले भर्चुअल माध्यमबाट मुद्दाको सुनुवाइ सुरु गरिएको बताउनुभयो ।

सरकारी वकिलको कार्यालयले दर्ता गराएको जबरजस्ती करणी मुद्दामा आजदेखि कानून व्यवसायीहरुले भर्चुअल माध्यमबाट बहस सुरु गर्नुभएको उल्लेख गर्दै उहाँले अदालतमा प्रतिवादीहरुसँग भर्चुअल माध्यमबाट वयान लिने काम भने मंगलबार देखि नै शुरु गरिएको बताउनुभयो ।

जिल्ला न्यायाधिवक्ता मगरले सरकारी वकिलको कार्यालयबाट र अधिवक्ताद्वयले आ–आफ्ना ‘ल’ च्याम्बरबाट जुममा बहस गरेको दाहालले बताउनुभयो । जबरजस्ती करणी मुद्दामा प्रतिवादीको बयानपछि कानून व्यवसायीहरुको बहस भर्चुअल माध्यमबाट सुनेर न्यायाधिस भरत लम्सालको इजलासले धरौटीमा छाड्ने आदेश गरेको उहाँले जानकारी दिनुभयो ।

‘प्रतिवादीहरुसँग वयान लिन र कानुन व्यवसायीहरुले बहस गर्ने छुट्टाछुट्टै जुम आइडी प्रयोग गरेका छौं,’ श्रेस्तेदार दाहालले भन्नुभयो, ‘न्यायाधिस लम्साल ज्यूले जुमबाट बयान, पक्ष र विपक्षको बहस सुनवाइपछि आदेश गर्नुभएको हो ।’

न्यायाधीस लम्सालको इजलासले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका जहदा गाउँपालिका ३ का इस्लाम मियाँ, मोहम्मद कबिर र नसरिन मियाँलाई धरौटीमा छाड्ने आदेश दिएको उहाँले बताउनुभयो ।

नसरिनलाई ५० हजार, इस्लामलाई २५ र कबिरलाई ४० हजार धरौटीमा छाड्ने आदेश भएको छ । गाउँमा नै मिलापत्र गराइएको २०७७ जेठ १६ गतेको बलात्कार घटनाको पीडित पक्षले ११ महिनापछि मिलापत्र गराउनेसहित ८ जना विरुद्ध जाहेरी दिएको थियो । अधिवक्ता भरतबहादुर थापाले पहिलो पटक जुमबाट गरेको बहसले नौलो अनुभुति गराएको बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker