मुख्यमन्त्रीद्वारा गणतन्त्र दिवसको शुभकामना

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवस २०७८ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । यस ऐतिहासिक दिवसले सबै नेपालीमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता होस् भन्ने उहाँले शुभकामना दिनु भएको हो ।

मुख्यमन्त्री राईले आज शुभकामना सन्देश जारी गरी ज्ञातअज्ञात तथा अमर शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नु भएको छ ।

उहाँले गणतन्त्र प्राप्तिको आन्दोलनमा बेपत्ता भएका प्रति उच्च सम्मान गर्दै सम्पूर्ण घाइते तथा अपांगहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

‘सामन्ती, निरङ्कुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको भन्दै मुख्यमन्त्री राईले हामी निर्वाचित जनप्रतिनिधिमूलक संस्थाहरू गणतान्त्रिक मूल्य मान्यता बमोजिम जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध छौं,’ शुभकामना सन्देशमा भनिएको छ, ‘विश्वमा लोकप्रिय तथा समृद्ध पद्धतिको रूपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवन पद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै गएको छ ।’

मुख्यमन्त्री राईले कोरोना भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन सबैलाई आग्रह गर्नुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker