बजेट अधिवेशन र कोभिडको निःशुल्क उपचारका लागि विपक्षी दलद्वारा प्रदेश प्रमुखलाई ध्यानाकर्षण

विराटनगर । प्रदेश १ सभाका विपक्षी दलहरुले बजेट अधिवेशन आह्वान र कोभिडको निःशुल्क उपचारका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई ध्यानाकर्षण गराएका छन् ।

कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाको नेतृत्वमा जनता समाजवादी पार्टीका नेता जयराम यादव, माओवादी केन्द्रका प्रदेशसभा सदस्य विजयकुमार विश्वास, कुलप्रसाद साम्बा, कांग्रेसका प्रमुख सचेतक केदार कार्की र सचेतक सुयर्माराज राईको टोलीले आज ध्यानाकर्षण गराउनु भएको हो ।

प्रदेशसभा नियमावलीमा भएको व्यवस्था अनुसार प्रदेश सरकारले बजेट ल्याउनुभन्दा १५ दिन अगाडि पूर्व बजेट छलफल गरिसक्नु पर्ने तर हालसम्म प्रदेश सरकारले बजेट अधिवेशन नबोलाएकोले प्रदेश प्रमुख अधिकारीलाई ध्यानाकर्षण गराएको प्रमुख सचेतक कार्कीले बताउनुभयो ।

‘प्रदेशमा संविधान कार्यान्वयन जिम्मेबारी बोकेका प्रदेश प्रमुख अधिकारीलाई संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारलाई नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकारसँग पहल गर्न ध्यानाकर्षण गरायौं,’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकारको गतिविधिले प्रदेशसभा जिवितै रहेको अवस्थामा असंवैधानिक तबरले अध्यादेशमार्फत बजेट ल्याउने देखिएकोले प्रदेश प्रमुखलाई ध्यानाकर्षण गरायौं ।’

कोरोना महामारीले प्रदेशवासी आक्रान्त भएको अवस्थामा प्रदेश सरकारको उपस्थित नदेखिएको भन्दै उहाँहरुले प्रदेश प्रमुखको ध्यानाकर्षण गराउनुभयो । उहाँहरुले यस प्रदेशका कोरोना संक्रमितको निःशुल्क उपचारका लागि प्रदेश सरकारसँग पहल गरिदिन आग्रह गर्नुभयो ।

प्रदेश प्रमुख अधिकारीले यी विषयमा प्रदेश सरकारसँग छलफल गरेर कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker