बजेट विगतका भन्दा राम्रो : प्याब्सन अध्यक्ष टीकाराम पुरी

आर्थिक वर्ष २०७८/०७९का लागि हिजो प्रस्तुत बजेट कस्तो लाग्यो भनेर कोशी सन्देशले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीसँग लिइएको प्रतिकृया

विराटनगर । बजेट खास गरेर शिक्षा क्षेत्रका लागि गत वर्षहरुभन्दा अत्यन्त राम्रो छ । शिक्षकहरुको २ हजार भएपनि तलब बृद्धि भएको छ । बालकक्षाका शिक्षकहरुको तलब उल्लेखनीय बृद्धि भएको छ । उहाँहरुका माग पुरा भएका छन् । सार्वजनिक शिक्षाका लागि पनि राम्रो कुरा आएको छ ।

कोरोनाको महामारीसँग जुधिरहेका बेला आएको यस्तो बजेटलाई राम्रो मान्नुपर्छ । अहिलेको स्रोतसाधनलाई हेर्ने हो भने यत्तिको तलब बृद्धि गर्ने होइन, यद्यपी शिक्षा क्षेत्रमा अलिकति प्राथमिकता दिएको पाइन्छ । समष्टिमा भन्ने हो भने अघिल्ला वर्षहरु भन्दा यस वर्ष शिक्षा क्षेत्रलाई प्राथमिकताका साथ सम्बोधन भएको छ ।

निजी विद्यालयहरु पनि कोभिड–१९ को महामारीसँग लडिरहँदा धाराशायी अवस्थामा पुगेका थिए । त्यसैले निजी विद्यालयहरुको संरक्षणका लागि सम्बोधन गर्न हामीले माग राख्दै आएका थियौं । त्यसलाई केहि हदसम्म बजेटमा सम्बोधन गरिएको छ । सरकारले बजेटमा पुनरकर्जाको ब्यवस्था गरेको छ ।

यस्तै साना तथा मझौला विद्यालयहरुका लागि व्यवसाय निरन्तरता कर्जाको व्यवस्था गरेको छ । यी दुई कर्जाले विद्यालयलाई अप्ठ्यारो अवस्थाबाट पार पाउन सहज हुने हाम्रो विश्वास छ । त्यसैले हाम्रो माग बमोजिम चाँही यो व्यवस्था गरेकोमा स्वागत गर्नै पर्छ ।

यद्यपी बजेटमा इन्टरनेटको क्षमता अभिबृद्धि गरेर अनलाईन कक्षालाई प्राथमिकता दिनको छुटको व्यवस्था गरिनुपथ्र्यो । बजेटले त्यस कुरालाई चाँही समेट्न सकेन ।

यस्तै सामुदायिक विद्यालय पढेका विद्यार्थीहरुलाई कक्षा ११ देखि माथिको पठनपाठनका लागि ल्यापटप खरिद गर्न १ प्रतिशत ब्याजदरमा ८० हजार २ वर्षसम्मका लागि सहुलियत ऋण दिने व्यवस्था गरेको छ । यसमा भने विभेद भएको छ ।

सरकारले सामुदायीक मात्र नभएर निजी विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीहरुको लागि पनि यो सहुलियत दिनुपथ्र्यो । निजी विद्यालयमा पनि नेपालीकै छोराछोरी पढ्ने, निजी विद्यालयपनि नेपाल सरकारकै अनुमति स्विकृतीमा सञ्चालन भइरहेको हुनाले समान ब्यवहार गरेको भए सुनमा सुगन्ध हुने थियो । तथापी बजेटमा समेटिएका कार्यक्रमहरु सकारात्मक छन् । समग्रमा बजेट राम्रो छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker