एमालेभित्रको राजनिति : ओलीको एकतामा जोड, नेपालको विभाजित मोड

सुदिप कोइराला,

विराटनगर । नेकपा एमाले भित्रको पछिल्लो घटनाक्रम हेर्दा एमालेको एउटा अंश टुक्रिएर अर्को पार्टी बन्ने प्रायः निश्चित छ । विभाजनको संघारमा पुगेको एमालेमा केहिदिन यता संस्थापन पक्षले लिएको लचकता र दोस्रो तहका नेताको भूमिकाले फेरी सग्लो एमाले नै बन्छ कि भन्ने आशा बोकेका तल्ला तहका नेता कार्यकर्तामा निराशा छाउन थालेको छ ।

पछिल्लो घटनाक्रमलाई विश्लेषण गर्दा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टी एकताको पक्षमा उभिनुभएको देखिन्छ । पार्टी हित विपरीतका कृयाकलापमा सम्लग्न नेता कार्यकर्तालाई कारवाही गर्ने तयारी रोकेर एकताको सम्भावना खोजेको पाइन्छ । दोस्रो तहका नेताहरुको ब्रिफिङलाई आधार मान्दै सकेसम्म पार्टीलाई सिङ्गो र सग्लो एमाले बनाउने ध्यान अध्यक्ष ओलीको छ । उहाँको भित्री इच्छा अनुशार पार्टीका दुवै समूहमा रहेका दोस्रो पुस्ताका जुझारु नेताहरु एकताकै पहल गरिरहनुभएको छ ।

एमालेका केन्द्रीय सदस्य विनोद ढकाल भन्नुहुन्छ,‘पार्टीलाई एकपछि अर्को घात गर्दा पनि, कारवाहि नगरेर छलफल गर्नुको कारण नै एकता कायम होस भन्ने चाहना हो प्रधानमन्त्री ज्यूको ।’ यद्यपी माधव कुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरु कसैगरि पनि मिल्न हुदैन भन्ने मनस्थितिका साथ गतिविधिहरु गर्दै अघि बढेको उहाँको बुझाई छ ।

पार्टीकै उम्मेदवार हराउने, पार्टीकै नेतृत्वको सरकार ढाल्न विपक्षीसँग साँठगाँठ गर्ने, अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर संकलन देखि अदालतसम्म पुग्ने अक्षम्य गल्ति रहेको उल्लेख गर्दै उहाँले यद्यपी आम नेता कार्यकर्ताको चाहना बुझेर संयमताका साथ पार्टी एकताका लागि हदैसम्मको लचक बन्ने निति लिएको उहाँले बताउनुभयो ।

तर अर्को तिर माधवकुमार नेपाल र झलनाथ खनाल समूह भने विभाजित मोडका साथ अघि बढेको पाइन्छ । एकपछि अर्को गर्दै नेतृत्वप्रति प्रतिशोध साध्न पार्टीलाई नै कमजोर बनाउने खेलमा लाग्नुभएको छ । जव एकताका लागि प्रयास प्रारम्भ हुन्छ, माधव नेपाल समूहको त्यसका विरुद्ध गतिविधिहरु अगाडि बढ्ने गरेका छन् ।

एमालेका दोस्रो पुस्ताको एकताको पहलकदमीलाई समेत नेपाल समूहले राम्रो मानेको छैन । अझ माधव नेपाल समूहले निर्देशन बिना नै एकताको पहल गरेको भन्दै सम्लग्नहरुलाई समूहबाट टाढै राख्ने पक्षमा पुगेको स्रोतले बताउँछ । नेपाल निकट एक नेताले भन्नुभयो,‘ जो एकताका लागि भन्दै वार्ता र छलफलमा हुनुहुन्छ, उहाँहरुको झुकाव नै ओली तिर देखिन्छ ।’

यहि बुझाईका कारण पनि नेपाल समूह अध्यक्ष ओलीसँग मिलेर एउटै पार्टीमा बस्नुभन्दा अर्को पार्टी बनाएर विपक्षी दलसँगको गठबन्धनबाट चुनावसम्म जाने योजनामा लागेको देखिन्छ । यता माधव समूहका नेता कार्यकर्तामा पनि पार्टीको विभाजन नभई एकता होस भन्ने चाहना छ ।

नेपाल समूहका केन्द्रिय सदस्य महेश रेग्मीले चाहना एकताबद्ध एमाले नै रहेको बताउनुभएको छ । यद्यपी यसका लागि पार्टीका दुई नेता नै जिम्मेवार हुने बताउनुभयो । ‘अब अन्तिम अवस्थामा छौं’,उहाँले भन्नुभयो, ‘बल पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का नेता माधवकुमार नेपालकै खुट्टामा छ ।एक अर्काले पास खेल्दै जाली चुम्नेकि एक्लै अघि बढाउने दम्भमा बाहिर फ्याक्ने ?’ उहाँले दोस्रो तहका नेताहरुले खेलेको एकताको भूमिका सकारात्मक रहेपनि नतिजा निकाल्न ओली र नेपालबाट मात्र सम्भव रहेको बताउनुभयो ।

पार्टी एकताको पक्षमा नेता कार्यकर्ता रहेपनि शिर्षस्थ नेताहरुको गतिविधि भने भिन्न छ । निकासको मुखमा पुगेजस्तो आभाष हुँदैगर्दा हुने प्रतिष्पर्धि गुटगत छलफल र भेलाले त्यसलाई असफल बनाउँदै आएको छ ।

आज बस्ने एमाले स्थायी समितिको वैठकले एकताको निष्कर्ष निकाल्छ भन्ने अड्कल काट्दै गर्दा नेपाल समूहले बोलाएको गुटका केन्द्रीय सदस्यको वैठकले भाँडेको आभाष कार्यकर्तामा परेको छ । त्यसलाई पुष्टि गर्दै एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले सो भेलालाई अवैधानिक भन्दै सहागि नहुन सचेत गराउनुभएको छ । यस्ता गतिविधिले सिङ्गो र सग्लो पार्टी बन्ने कार्यकर्ताको आशा निराशामा परिणत हुन पुगेको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker