गण्डकी प्रदेशसभामा मुख्यमन्त्री गुरुङलाई प्राप्त होला विश्वासको मत ?

एमालेसँग २८ र विपक्षीसँग ३० प्रदेशसभा सदस्य

पोखरा । गण्डकी प्रदेशसभामा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको गरी विपक्षीसँग ३० र एमालेसँग २८ जना प्रदेशसभा सदस्य रहेको अंक गणितका बीच मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत पाउला ? उहाँले विश्वासको मत नपाउने अवस्थामा प्रदेशसभाको अस्तिव्त समाप्त होला ? यो प्रश्न अहिले राजनीतिक वृतमा छ ।

विपक्षीले दर्ता गराएको अविश्वास प्रस्ताव प्रदेशसभामा प्रक्रियागत रुपमा अघि बढेपछि विश्वासको मत पाउने आधार नदेखेपछि मुख्यमन्त्री गुरुङले वैसाख २६ गते राजिनामा दिएका थिए ।

राष्ट्रिय जनमोर्चाका दुई प्रदेशसभा सदस्य एमालेतर्फ ढल्केपछि विपक्षीले विश्वासको मत पाउने आधार प्रदेशसभामा प्रस्तुत गर्न सकेनन् । जसको फलस्वरुप मुख्यमन्त्री गुरुङ राजिनामा दिएको तीन दिनमै पुनः वैसाख २९ गते नियुक्त हुनुभएको छ ।

उहाँले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ तर अहिले अंकगणितीय दृष्टिकोणले विश्वासको मत प्राप्त गर्ने अवस्था न्यून छ । किनकी मुख्यमन्त्री गुरुङलाई सघाएको आरोपमा कृष्ण थापालाई राष्ट्रिय जनमोर्चाले प्रदेशसभा सदस्यबाट निस्कास्न गरिसकेको छ ।

अहिले प्रदेशसभामा कायम ५९ सदस्यमध्ये एमालेको २७ र एमालेसँग स्वतन्त्र निर्वाचित दिपक मनाङ्गे भन्ने राजीव गुरुङ गरी मुख्यमन्त्री गुरुङसँग कूल २८ प्रदेशसभा सदस्य हुनुहुन्छ । विपक्षी कांग्रेसको १५, माओवादी केन्द्रको सभामुख बाहेक ११, राष्ट्रिय जनमोर्चा र जसपाको २–२ जना गरी ३० जना प्रदेशसभा सदस्य हुनुहुन्छ ।

गुरुङलाई मुख्यमन्त्रीमा रहिरहन थप दुई जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक छ । यो दृष्टिकोणले गुरुङको मुख्यमन्त्री पद जोगिने अवस्था देखिदैन ।  यसको असर नेपाली राजनीतिमा कतिसम्म पर्छ ? यसले प्रतिनिधिसभासँगै प्रदेशसभाको पनि निर्वाचन हुने परिस्थिति निर्माण हुन्छ ? हेर्न बाँकी छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker