हवाई इन्धनको मूल्य समायोजन गर्न मन्त्री ढकालको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन निर्देशन दिनुभएको छ । आज सरोकारवाला निकायका पदाधिकारीसँग छलफलमा उहाँले हवाई इन्धनको मूल्य समायोजन गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री ढकालले पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेललगायतसँग छलफल गर्नुभएको थियो ।

मन्त्री ढकालले इन्धनको मूल्य घटाउँदा माग बढ्ने भएकाले निगमको स्टोरेज क्षमता बढाउन आवश्यक जग्गा व्यवस्थापनकालागि सहयोग गर्न समेत नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।

हवाई इन्धनको समयानुकुल समायोजन नहुँदा हवाई कम्पनीहरू मारमा परेका छन् । अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाउन विभिन्न संस्थाहरूले माग पनि गर्दै आएका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker