प्रादेशिक सञ्चार प्रतिष्ठानले कोभिड–१९ संक्रमित पत्रकारलाई आर्थिक सहयोग गर्ने

विराटनगर । प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ ले कोभिड–१९ संक्रमणबाट प्रभावित पत्रकारहरुका लागि आर्थिक सहयोग गर्ने भएको छ ।

प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ को बोर्डका अध्यक्ष समेत रहनुभएका आन्तरीक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ संक्रमणका कारण ज्यान गुमाएका पत्रकारहरुको परिवारलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

यस्तै कोरोना संक्रमण जटिल भई भेन्टिलेटरमा उपचार गराइरहेका पत्रकारहरुका लागि समेत ५० हजार र अस्पताल भर्ना भई उपचार गराइरहेका पत्रकारका लागि २५ हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुशार प्रदेश १लाई आधार बनाई पत्रकारीता गर्दै आउनुभएका पत्रकारको हकमा यो सहयोग उपलब्ध हुनेछ । यसका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखाको सिफारिस अनिवार्य हुनेछ । यस्तै आवश्यकता अनुशार स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयको समेत सिफारिस मागिने उहाँले बताउनुभयो ।

यस्तै कोरोना महामारीका कारण प्रभावित अन्य पत्रकारहरुलाई समेत सहयोग गर्ने उद्देश्यले फेलोसीप प्रदान गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । प्रादेशिक सञ्चार प्रतिष्ठानले यसको अतिरिक्त कडा प्रकारका रोग ( तोकिएका ) लागेका पत्रकारहरुलाई समेत आवश्यक कागजातसहित सिफारिस गरे बढीमा ५० हजार रुपैयाँ सम्म प्रदान गरिने निर्देशक शर्माले बताउनुभयो ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker