प्रदेश २ सरकारमा पनि कांग्रेस ‘इन्ट्री’ गर्दै

जनकपुर । प्रदेश २ सरकारमा पनि कांग्रेसको ‘इन्ट्री’ हुनेभएको छ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको कारण पार्टी फुट्ने भएपछि प्रदेश २ मा कांग्रेसको भाग्य खुलेको हो । प्रदेश २ सरकार पुनर्गठनका लागि उपेन्द्र यादव र ठाकुर दुबै पक्षले जनकपुरमा कांग्रेसलगायतका दलसँग छलफल थाल्नुभएको छ ।

जसपाको एक सरकार रहेको प्रदेश २ मा ठाकुर पक्षका मन्त्रीहरुललाई मुख्यमन्त्री लालबाबु राउतले हटाउन खोज्नुभएको छ । ठाकुर पक्षका मन्त्री हटाउन राउतले कांग्रेस र माओवादी केन्द्रको साथ खोज्नु भएको हो । ठाकुर पक्षले कांग्रेसलाई मुख्यमन्त्री दिएर भए पनि यादव पक्षलाई तह लगाउने रणनीतिमा रहेको छ ।

अहिले १०४ सदस्यीय प्रदेश २ सभामा जसपाको ५५, एमालेको २१, कांग्रेसको १९, माओवादी केन्द्रको ८ र नेपाल संघीय समाजवादी पार्टीको १ सांसद हुनुहुन्छ । जसपामध्ये तत्कालिन ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीको ३० र यादव नेतृत्वको संघीय समाजवादी पार्टीको २५ सांसद हुनुहुन्छ । ठाकुर पक्षका प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव पक्षमा आइसक्नुभएको छ ।

जसले यादव पक्षमा २७ र ठाकुर पक्षमा २८ सांसद हुनुहुन्छ । यादव पक्षका मुख्यमन्त्री राउतलाई टिकाइ राख्न कांग्रेस र माओवादी केन्द्रको समर्थन आवश्यक छ । कांग्रेसलाई २ मन्त्री र २ जना राज्यमन्त्री र माओवादीलाई १ मन्त्री र १ राज्यमन्त्री दिएर सरकारमा सहभागी गराउन यादवले जनकपुरमा दुबै दलसँग हिजोदेखि छलफल गरिरहनुभएको एक नेताले बताउनुभयो ।

सरकारमा रहेका ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनल र तीन जना राज्यमन्त्री हटाएर कांग्रेस र माओवादीलाई मन्त्रालय अपुग हुनेभएकोले थप दुई वटा मन्त्रायलय बिस्तारको तयारीमा मुख्यमन्त्री राउत रहनुभएको छ ।

यता, ठाकुर पक्षले कांग्रेस र एमालेको साथ लिएर यादव समूहलाई सरकारबाट हटाउने रणनीतिका साथ छलफल अघि बढाएको एक नेताले बताउनुभयो । यसका लागि कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले पहल गरिरहनुभएको कांग्रेस सम्बद्ध स्रोतले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker