प्रधानमन्त्री ओलीले कम्बोडियन र बंगलादेशी शैलीमा देश हाँक्न खोज्दै : शेखर कोइराला

विराटनगर । कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियन वा बंगलादेशी शैलीमा देश हाँक्न खोजेको आरोप लगाउनुभयो ।

कोइराला निवासमा पत्रकारसँगको कुराकानीमा उहाँले कामचलाउ सरकारले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सरकार पुनर्गठन गरेर गलत नजिर कायम गरेको बताउनुभयो ।

‘निर्वाचनको मिति घोषणा गरिसकेपछि सरकारले मन्त्रिपरिषद पुनर्गठन गर्नु संविधान र लोकतन्त्रको बरखिलाफ हो,’ उहाँले भन्नुभयो, ‘अहिले सरकार विघटन भइसकेको र विघटनको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको अवस्थामा ओली जीले आफूलाई बचाउन मात्रै सरकार पुनर्गठन गरेको हो या निर्वाचन नगर्नलाई यो बुझ्नु आवश्यक छ ।’

प्रधानमन्त्री ओलीले आफै चाहेर वा कोरोना महामारीले अहिले तोकेको मितिमा चुनाव नहुने प्रष्ट रहेको उहाँको भनाई छ । ‘ओली जीको नेतृत्वमा हुने निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनै सक्दैन,’ उहाँले भन्नुभयो, ‘ओली जी तानाशाह अधिनायकवादको हिसाबले हिडिरहनुभएको छ ।’

पछिल्लो तीन वर्षको अवधिमा तीन पटक कम्बोडीया गइसकेका प्रधानमन्त्री ओलीले कम्बोडियन शैलीमा देशलाई लग्न खोजिरहेको कोइरालाको भनाई छ । अर्को विपक्षीलाई सखाप पारेर बंगलादेशी शैलीमा पनि जाने प्रधानमन्त्रीको योजना रहेको उहाँले बताउनुभयो ।

‘ओलीजी प्रधानमन्त्री भएपछि सत्ता कब्जा गर्ने हिसाबले अघि बढ्नुभयो र सुरुमा सम्पति सुद्धिकरण, राजश्व अनुसन्धान, राष्ट्रिय अनुसन्धान विभागलाई आफ्नो हातमा लिनुभयो,’ कोइरालाले भन्नुभयो, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र न्यायालयलाई प्रभावमा पारेर ओलीजी सधैं सरकारमा बसिरहन खोजिरहनु भएको छ र त्यसमा संविधानका संरक्षक राष्ट्रपति जीको सहयोग मुलुककै लागि दुरभाग्य हो ।’

कांग्रेसको कमजोरीले ओली यो अवस्थासम्म आइपुगेको कोइरालाको भनाई थियो । ‘प्रधानमन्त्री भएपछि अधिकारहरु आफू मातहत ल्याउने क्रममा कांग्रेस मौन बस्नु नै ठूलो भूल हो,’ उहाँले भन्नुभयो, ‘त्यति वेला कांग्रेस सडकमा आएर सदन चल्न नदिएको भए ओली जी तानाशाही र अधिनायकवादी बन्न सक्नु हुन्न थियो ।’

ओलीलाई यो अवस्थासम्म आउनुमा कांग्रेसको हात छ र यसमा कुनै शंका नभएको कोइरालाले स्विकार्नुभयो । उहाँले कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेकै कारण यस्तो भएको स्विकार्नभयो ।

‘निर्वाचन समयमा नभए र संसद पुनःस्थापना पनि नभए ओलीलाई सत्ताच्युत गर्नका लागि पुनः आन्दोलनमा जानुको विकल्प रहँदैन,’ उहाँले भन्नुभयो, ‘३० वर्षे पञ्चायत शासन ढाल्नका लागि लडिरहयौं त्यही अनुसार संघर्ष गरिरहनुपर्छ, हतोत्साहित हुनुहुँदैन । तर सही बाटोमा हिड्नु पर्यो ।’

सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्नेमा कुनै दुई मत नभएको कोइरालाले विश्वास व्यक्त गर्नुभयो । ‘सर्वोच्च अदालतमा १४६ जना सांसदले परेडै गरिसकेकाले न्यायमुर्तिहरु यस विषयमा अत्यन्तै सतर्क हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘उहाँहरुको बारेमा कुनैपनि किसिमको टिकाटिप्पणी गर्ने ठाउँ छैन । संसद पुनःस्थापना हुनेमा पूर्ण विश्वस्त छु ।’ तर संसद पुनःस्थापनपछि पनि निर्वाचनमा जानुको विकल्प छैन किनकी अब संसद चल्ने अवस्था नरहेको कोइरालाले बताउनुभयो ।

‘संविधान बन्ने क्रममा उग्ररुपमा प्रतिरक्षा गर्ने ओली र उग्ररुपमा विरोध गर्ने तत्कालिन राष्ट्रिय जनता पार्टी एक ठाउँमा आउनु निकै गम्भीर विषय हो,’ उहाँले भन्नुभयो, ‘ओली जीलाई के आवश्यकता प¥यो राजपालाई सरकारमा ल्याउन यो विषय सोच्नीय छ ।’

ओलीको नेतृत्वमा दक्षिणपन्थीहरु एकजुट भइरहेको कोइरालाको भनाई थियो । उहाँले अबको निर्वाचनमा दक्षिणपन्थी समूहको नेतृत्व गरेर ओली, मध्यमार्गीको नेतृत्व गरेर कांग्रेस र वामपन्थीहरुको गरी तीन समूहमा निर्वाचनमा जाने अवस्था निर्माण भइरहेको बताउनुभयो ।

मुलुक निर्वाचनमा गइसकेको अवस्थामा संवैधानिक संकटमा फसेको कांग्रेसको भदौभित्रमा पार्टीको निर्वाचन गराएर अघि बढ्नुको विकल्प नभएको कोइरालाले बताउनुभयो ।

‘कांग्रेसको ४ वर्षे कार्यकाल सक्यो, विधान बमोजिमको एक वर्षको समय सक्यो र अहिले संविधानले दिएको समय भदौमा सक्दैछ,’ उहाँले भन्नुभयो, ‘त्यसैले अहिले पार्टीको अधिवेशन नभनी निर्वाचनमा जानुको विकल्प छैन र संविधानमा पनि दलहरुको निवार्चनै भनिएकोले सहज छ ।’

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker