असार १ देखि विद्यार्थी भर्ना गरिने, वैकल्पिक विधिबाट भएपनि पढाई हुने

काठमाडौं । असार १ देखि नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना सुचारु गर्ने सरकारले तयारी थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आज सम्बन्धित निकायका पदाधिकारीहरुसँगको छलफलमा उहाँले यसको तयारीमा लाग्न निर्देशन दिनुभएको हो ।

कोभिड–१९ को महामारीले भौतिक रुपमा पठनपाठन हुन नसकेपनि वैकल्पिक विधि अपनाएर पनि पठनपाठन शुरु गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘असार १ गतेबाट भर्ना प्रकृया सुरु गर्नेछौँ, त्यसको निम्ति सबै कार्यक्रम कार्यान्वयन गर्नुहोस् ।’

मन्त्री श्रेष्ठले तत्काल देखिने गरी सबै काम अघि बढाउन विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभएको हो । बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्न कार्यविधि योजना तयार गर्न ढिला गर्न नहुने बताउँदै उहाँले साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्ने विषयमा अघि बढ्न निर्देशन दिनुभएको हो ।

यस्तै मन्त्री श्रेष्ठले सबै शिक्षक र कर्मचारीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन स्वाथ्य मन्त्रालयलाई पुनः आग्रह गर्ने बताउनुभएको छ । यस्तै उहाँले पाठ्यपुस्तकको ढुवानीको सहज वातावरण बनाउन सिसिएमसीमा पत्राचार गरिने बताउनुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यविधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने बताउनुभयो । उहाँले मन्त्रालयले साउन १ गतेबाट बजेट कार्यान्वयनमा लैजान सबै प्रकृया अघि बढाइएको जानकारी गराउनुभयो ।

बजेट तथा योजना महाशाखाका सहसचिव डा. तुलसी थपलियाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षमा देशभरका १ हजार ५ सय विद्यालय र क्याम्पस पुननिर्माण हुने जानकारी दिँदै त्यसको लागि योजना निर्माण भइरहेको बताउनुभयो ।

विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने, सहुलियत दरमा २५ लाख रुपैयाँसम्म ऋण दिने, कक्षा ९ सम्म रंगिन पाठ्यपुस्तक उपलब्ध गराउनेलगायतका महत्वपूर्ण योजना कार्यान्वयन गर्न मन्त्रालयले तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले केही दिनपछि बोर्डको बैठक बसेर एसईई परीक्षाको मिति तय गरिने बताउनुभयो । गत वर्षकै आधारमा एसईईको परीक्षाफल प्रकाशित गर्ने जानकारी गराउनुभयो ।

जनक शिक्षा सामग्री संस्थान लिमिटेडका प्रबन्ध निर्देशक अनिल कुमार झाले शैक्षिक सत्र अगावै पुस्तक ढुवानीको वातावरण बनाउन मन्त्रीको ध्यानाकर्ष गराउनुभएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker