प्रदेश १ मा आज बजेट अधिवेशन सुरु हुँदै

विराटनगर । प्रदेश १ सभाको आठौं तथा बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । बजेट अधिवेशन सुरु गर्न प्रदेशसभा सचिवालयले प्रदेशसभाका सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक, संसदीय पत्रकार र सांसदहरुको पिसिआर परीक्षण गरेको छ ।

प्रदेशसभाका प्रशासन महाशाखा प्रमुख चन्द्रमणि पोख्रेलले शनिबार स्वाब संकलन गरिएका कर्मचारी, सुरक्षाकर्मी र पत्रकारमध्ये २ जना चालक, २ जना सुरक्षाकर्मी र एक जना पत्रकारको पिसिआर रिपोर्ट पोजिटिभ आएको बताउनुभयो ।

प्रदेशसभाका सांसदहरुमध्ये ५६ जनाको स्वाब आइतबार संकलन गरिएको र अन्य सांसदहरुले आ–आफ्नै जिल्लामा पिसिआर परीक्षण गराएको उहाँको भनाई थियो । स्वाब संकलन गरिएका सांसदहरुको पिसिआर रिपोर्ट आज ११ बजेसम्ममा आउने पोख्रेलले बताउनुभयो ।

बजेट अधिवेशनको पहिलो बैठकमा संसदीय दलका नेताहरुले शुभकामना मन्तव्य दिने र प्रदेश आर्थिक कार्यविधि एने (दोस्रो संशोधन) संशोधन अध्यादेश पेस हुने कार्यसूचि रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारले आर्थिक कार्यविधि ऐनमा बजेट ल्याउनुभन्दा १५ दिन अगाबै पूर्वबजेट छलफल गर्नुपर्ने व्यवस्थालाई अध्यादेशमार्फत ५ दिन कायम गरेर संशोधन गरेको छ । गत वर्षको बजेट अधिवेशन अघि प्रदेश आर्थिक कार्यविधि ऐनमा पूर्वबजेट छलफल बजेट आउनुभन्दा दुई महिना अगाडि गर्नुपर्ने व्यवस्थालाई पहिलो संशोदन गरेर १५ दिन कायम गरेको थियो ।

प्रदेशसभाका विपक्षी दलहरुले ऐनमा भएको व्यवस्था अनुसार पूर्व बजेट छलफलका लागि दवाव दिएपछि प्रदेश सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरेको हो ।

यसैबीच बजेट अधिवेशनको विषयमा धारणा बनाउन प्रदेश १ का प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलको आइतबार बैठक बसेको थियो । सरकारलाई समयमा पूर्व बजेट छलफलका लागि बजेट अधिवेशन आह्वान गर्दासमेत नियतबस अधिवेशन नबोलाएको कांग्रेस संसदीय दलको बैठकले ठहर गरेको छ ।

कांग्रेसका संसदीय दलका नेता राजिव कोइरालाले समयमा ध्यानाकर्षण गराउँदा समेत प्रदेश सरकारले बजेट अधिवेशन आह्वान नगरी पूर्व बजेट छलफललाई औपचारिकतामात्रै सिमित गर्न अध्यादेशमार्फत एने संशोधन गरेको आपतिजनक भएको बताउनुभयो ।

‘प्रदेशमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा प्रदेश सरकार असफल भएको बैठकको ठहर छ,’ उहाँले भन्नुभयो, ‘चालु आर्थिक वर्षमा प्रदेशमा आर्थिक संकट सृजना हुनुको कारण खोजी गरी दोषीमाथि कारवाहीका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने बैठकले निर्णय गर्यों ।’

संवैधानिक व्यवस्था विपरित प्रदेश सरकारलाई कुनै किसिमको कामकाज गर्न नदिन जस्तोसुकै चुनौति स्विकार गरेर कांग्रेस अघि बढ्ने दलको बैठकले निर्णय गरेको कोइरालाले बताउनुभयो ।

विपक्षी दल माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले प्देश सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरेर कर्मकाण्डी र औपचारिकतामा सिमित गर्न पूर्वबजेट छलफल गर्न लागेको भन्दे आपति जनाउनुभएको छ । प्रदेश सरकारको बदनियतपूर्ण कार्यको सदनमै प्रतिवाद गर्ने माओवादी केन्द्र संसदीय दलको रणनीति रहेको उहाँले बताउनुभयो ।

अर्का विपक्षी दल जनता समाजवादी पार्टीका नेता जयराम यादवले राज्यले जस्तोसुकै परिस्थितिमा आफ्नो दायित्व र कर्तव्य पूरा गर्नुपर्नेमा कोरोना महामारीलाई देखाएर पूर्व बजेट छलफललाई औपचारिकतामा सिमित गर्ने प्रदेश सरकारको काम आपत्तिजनक भएको बताउनुभयो ।

‘प्रदेश सरकारले नियतबस पूर्वबजेट छलफललाई औपचारिकतामा सिमित गर्नु गम्भीर भूल गरेको छ,’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले आफ्नो गल्ती ढाकछोप गर्न अध्यादेशमार्फत ऐन संशोधन गरेको मूल्य प्रदेशसभामा चुकाउनु पर्छ ।’

आफ्नै दलका सांसदहरुमाथि विश्वास नभएकाले समयमा ध्यानाकर्षण गराउ“दा समेत बजेट अधिवेशन आह्वान नगर्नु प्रदेश सरकारको भत्सर्ना योग्य काम भएको यादवले बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker