प्रदेश २ मा आगामी आ.व.को बजेटको प्राथमिकता तथा सिद्धान्त प्रदेश सभामा पेश

जनकपुरधाम । प्रदेश २ सरकारले आगामी आर्थिक बर्षको बजेटको प्राथमिकता तथा सिद्धान्त प्रदेश सभामा पेश गरेको छ । आज प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले विनियोजन विधेयक २०७८ मा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र नीतिहरु प्रदेश सभामा छलफलका लागि प्रस्तुत गर्नुभएको हो ।

विनियोजन विधेयकमा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीको दोस्रो लहरले पारेको प्रभावलाई नियन्त्रण गर्दै प्रदेशको आर्थिक गतिविधिलाई चलायमान बनाउने प्राथमिकता र नीतिहरु समावेश गरिएको छ ।

त्यसैगरी विधेयकमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरुमा हाल देखिएको कोरोना महामारी नियन्त्रण गर्न र आम नागरिकहरुको जीउज्यानको रक्षाको लागि चालेको कदमले संघीयताको महत्वलाई स्थापित गरेको दावी गरिएको छ ।

साथै विधेयकमा कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाले देशको समग्र अर्थ व्यवस्थामा गम्भिर असर परेको अवस्थामा प्रदेश सरकारको राजस्व संकलनमा समेत संकुचन हुन पुगेको उल्लेख छ ।

विधेयक पेश गर्दै मन्त्री यादवले अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनिकरण गर्दै आर्थिक गतिविध गतिशील बनाउनुपर्ने चुनौति थपिएको बताउनुभयो ।

मुलुकको पन्ध्रौ आवधिक योजना, प्रदेशको पहिलो आवधिक योजना, दिगो विकासका लक्ष्यहरु, राज्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिवद्धता र अठोट तथा प्रदेश सरकारका विगतका नीति तथा कार्यक्रम, जनता समक्ष गरिएका प्रतिवद्धतालाई पुरा गर्नेतर्फ आगामी आर्थिक वर्षको बजेट लक्षित हुने उहाँको भनाइ छ ।

प्रादेशिक योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानेगरी आर्थिक वर्ष ०७८÷०७९ को बजेट आउने मन्त्री यादवको दावी छ ।

प्रदेशसभाको छैठौँ बैठकमा जसपाका संसदीय दलका उपनेता रामअशिष यादव, एमालेका संसदीय दलका नेता सत्रुधन महतो र काँग्रेसका संसदीय दलका नेता रामसरोज यादव र नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद यादव र सावित्री देवी साहले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यता, महन्थ पक्षका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल सहित ४ मन्त्रीलाई प्रदेश सरकारले बर्खास्त गरेपछि राजपाका सांसदहरूले मुख्यमन्त्री लालबाबु राउतले एकलौटी गरेको भन्दै प्रदेशसभा बैठकमा सहभागि हुनुभएन ।

प्रदेशसभा बैठक जेठ २५ गते मंगलबार दिउसो १ बजे पुनः बस्ने सभामुख सरोजकुमार यादवले जानकारी दिनुभयो । मंगलबार बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने बताइएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker