
सुदिप कोइराला,
विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले बजेट प्रतिष्पर्धाका लागि ठूलो बनाउने नभई यथार्थपरक हुने बताउनुभएको छ । प्रदेशसभामा विनियोजन विधेयक २०७८ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
अहिलेको सन्दर्भमा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता रहेको भन्दै उहाँले बजेटमा कोभिड १९ को नियन्त्रण, रोकथाम र उपचारलाई नै पहिलो, कृषिलाई दोस्रो प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले आफ्नो धरातलमा उभिएर बजेट प्रस्तुत गर्नुपर्छ । ठूलो बजेट बनाउने प्रतिष्पर्धा गरेर गैर जिम्मेवार ढंगले बजेट बनाउनु हुँदैन । त्यसैले जे–जस्तो साधन–स्रोत छ, त्यसैलाई समेटेर यथार्थपरक बजेट बनाउने छौं ।’
मन्त्री आङ्बुहाङले सदनबाट आएको सुझाव समेटेर बजेट तयार गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । कतिपय महत्वकाक्र्षी र प्रदेश गौरवका आयोजनाहरु पहिलेकै कार्यान्वयन भइनसकेको भन्दै उहाँले थप नयाँ ल्याउनुभन्दा तिनैलाई कार्यान्वयनमा जोड दिइने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आवश्यकता अनन्त हुने र स्रोत सिमित हुने अवस्थामा गत वर्षकै अपुरो अधुरै योजनाहरु कार्यान्वयन गर्ने गरी बजेट ल्याउने काम हुन्छ ।’ आउँदो आर्थिक वर्षमा प्रदेश सरकारले गरेका कामहरुको परिणाम देखिने गरी बजेट ल्याउने प्रतिबद्धता समेत जनाउनुभयो । उहाँले सिद्धान्त र प्राथमिकताको सुझावका क्रममा आएको समाजवाद उन्मुख समेटिएन भन्नु चाँही गलत हुने बताउनुभयो ।