प्रदेशलाई खोप खरिदको अनुमति दिन मन्त्री राईको आग्रह

विराटनगर । प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गर्नुभएको छ । संघीय सरकारलाई तत्काल खोपको प्रवन्ध गर्न आग्रह गर्दै उहाँले केन्द्रले नसके प्रदेश सरकारलाई कोरोना संक्रमण विरुद्धको खोप खरिदको अनुमति दिन उहाँले आग्रह गर्नुभएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले यस्तो माग राख्नुभएको हो । कोरोना संक्रमण नियन्त्रणका लागि खोप नै महत्वपूर्ण रहेको भन्दै उहाँले संघीय सरकारलाई यथाशक्य चाँडो प्रवन्ध गर्न आग्रह गर्नुभयो ।मन्त्री राईले भन्नुभयो,‘ केन्द्रले प्रवन्ध गर्न नसक्ने भए प्रदेशलाई खरिदको अनुमति होस् ।’

कोरोनाको तेश्रो लहर शुरु हुने विज्ञहरुले बताईरहेकाले आवश्यक तयारी गनुपर्ने देखिएको भन्दै उहाँले संक्रमण नियन्त्रणमा प्रदेश सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो । प्रदेशका दुर्गम स्थानमा समेत कोरोना फैलिदै गएकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागेको उहाँले जानकारी गराउनुभयो ।

सरकारी अस्पतालमा जनशक्तिको अभाव देखिएको भन्दै मन्त्री राईले त्यसलाई पुरा गर्न स्वास्थ्य मन्त्रालयको ध्यान जान आवस्यक रहेको बताउनुभयो । प्रदेश १ का सवै जिल्ला अस्पताललाई व्यवस्थित बनाउने अभियान रहेको जानकारी गराउँदै मन्त्री राईले भन्नुभयो, ‘प्रत्येक जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउने गरि अघि बढेका छौं ।’

सवै स्थानीय सरकारको बजेट केन्द्रिकृत गरि पूर्ण व्यवस्थित र विकसित अस्पताल निर्माण गर्ने अभियानमा लागि परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ एचडियू, आईसीयू, भेन्टिलेटर, आवश्यक जनशक्ति सहितको विकसित अस्पताल निर्माण हुनेछ ।’

विपन्न नागरिकको स्वास्थ्य उपचारलाई केन्द्रित गरि विपन्न स्वास्थ्य कार्यक्रम ल्याउने योजनामा प्रदेश सरकार रहेको उहाँले बताउनुभयो । भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ, सात वटै प्रदेशका सामाजिक विकास मन्त्रीहरु, मन्त्रालयका सचिवलगायतको सहभागिता थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker