सुदुरपश्चिम एमालेले माग्यो १७ प्रदेशसभा सदस्यसँग स्पष्टिकरण

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । मंगलबार पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै प्रदेश कमिटीले १७ जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

पार्टीको निर्देशन उल्लङ्घन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश भनिएको छ । एमालेका प्रदेश सचिव राजेन्द्र रावलले जेठ १० गते पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको अवस्थामा विपक्षमा मतदान गर्न दिएको निर्देशन विपरीत मतदान गरेकाले स्पष्टीकरण सोधिएको जानकारी दिनुभएको छ ।

उहाँले संसदीय दलका नेता प्रकाशबहादुर शाहसहितका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधिएको बताउनुभयो । चित्तबुझ्दो जवाफ नदिए पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिने समेत उहाँले बताउनुभएको छ ।

संसदीय दलका नेता शाहलाई पार्टीको निर्देशन विपरीत सरकारमा आफू र अरुलाई पनि सहभागी गराउनुपर्ने कारण के हो ? भनेर सोधिएको छ ।

यसअघि एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले ह्वीप उल्लंघन गरेको भन्दै मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने ओली समूहका ७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोध्नुभएको थियो ।

स्पष्टिकरण सोधिएका प्रदेशसभा सदस्यले हिजो शाहलाई स्पष्टीकरण बुझाउनुभएको छ । संसदीय दलले अहिले स्पष्टीकरण अध्ययन गर्ने काम भइरहेकाले त्यसपछि मात्र आवश्यक कदम चाल्ने जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker