प्रदेश १ को नीति तथा कार्यक्रममा विपक्षी दलको टिप्पणी : निर्वाचन लक्षित

विराटनगर । प्रदेश १ सरकारले संघीय सरकारले घोषणा गरेको निर्वाचन लक्षित नीति तथा कार्यक्रम ल्याएको छ । आज प्रदेशप्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले गत वर्षमा असफल भइसकेका नीति तथा कार्यक्रमलाई निरन्तरता दिदै नयाँ कार्यक्रम समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

नीति तथा कार्यक्रमले कोरोना महामारीले थलिएको अर्थतन्त्र उकास्ने, रोजगारी सृजना गर्ने कार्यक्रम र प्रदेशको आर्थिक उन्नति गर्ने योजना समेट्न नसकेको विपक्षी दलहरुको टिप्पणी छ । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीय सरकारले घोषणा गरेको निर्वाचन लक्षित मात्र रहेको भन्दै विपक्षी दलहरुले केवल नागरिकलाई आश्वासन बाँड्ने काम मात्रै गरेको बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता राजिव कोइरालाले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम सफल हुने प्रकृतिको नदेखेको बताउनुभएको छ । प्रतिफल प्राप्त गर्ने एउटा पनि नीति तथा कार्यक्रम नभएकोले यसको औचित्यमाथि नै प्रश्न उठ्ने अवस्था छ रहेको उहाँले बताउनुभयो ।

संघीय सरकारले घोषणा गरेको निर्वाचन हुने–नहुने निश्चितता नरहेकाबेला प्रदेश सरकारले निर्वाचन लक्षित नीति तथा कार्यक्रम ल्याउनुको औचित्य नहुने उहाँले बताउनुभयो ।

माओवादी केन्द्रका संसदीय दलका नेता तथा पूर्व आर्थिकमामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले गत वर्ष नै असफल भइसकेका कार्यक्रममा केहि नयाँ थपिएर नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो ।

उहाँले यी नीति तथा कार्यक्रम कार्यान्वयन गर्न प्रदेश सरकारको स्रोतभन्दा ४ सय प्रतिशत बढी बजेट आवश्यक हुने बताउनुभयो । उहाँले प्रदेशवासीलाई झूठो आश्वसन बाँड्ने भन्दा अरु केही हुन नसकेको बताउनुभयो ।

जनता समाजवादी पार्टीका नेता जयराम यादवले यति धेरै नीति तथा कार्यक्रम ल्याएर जनतालाई ढाँट्ने काम मात्रै गरेको टिप्पणी गर्नुभएको छ । यसअघि पनि प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रम पुरा हुन नसकेको भन्दै उहाँले अझ अनावश्यक नयाँ कार्यक्रम थपिएर आएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ जसको न कुनै औचित्य छ, न त प्रतिफल नै प्राप्त हुन्छ ।’

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker