प्रदेश १ सभामा नीति तथा कार्यक्रमको छलफल : कार्यान्वयनमा आशंका

विराटनगर । प्रदेश १ को सभामा आजदेखि नीति तथा कार्यक्रम माथिको छलफल शुरु भएको छ । छलफलका क्रममा विपक्षी दलका अधिकांश प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रमको कार्यान्वयन हुनेमा आशंका ब्यक्त गरेका छन् ।

छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य धिरेन्द्र शर्माले नीति तथा कार्यक्रमा धेरै सपनाहरु देखाइएको बताउनुभयो । उहाँले भौतिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत नै ५० अर्व खर्च गर्न सकिने भन्दै सामाजिक विकास मन्त्रालयअन्तर्गत ५३ बुंदामा सबै क्षेत्र समेटेर नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो । यसलाई हेर्दा सबै क्षेत्रलाई मिठो सपना देखाएको छ तर एउटा पनि पूरा हुने अवस्था नरहेको उहाँले बताउनुभयो । त्यसैले आश्वासन बाड्ने काम मात्रै नहोस् । बजेट यथार्थपरक, जनताको समस्या सम्बोधन गर्ने र प्रतिफलमुखी आउन सकोस भन्ने सुझाव दिनुभयो ।

यस्तै प्रदेशसभा सदस्य उमिता विश्वकर्माले कृषिको क्षेत्रमा उत्पादित वस्तुहरु बजारीकरणको समस्या रहेको भन्दै नीति तथा कार्यक्रमले त्यसलाई सम्बोधन गर्न नसकेको बताउनुभयो । उहाँले सरकारले सम्भाव्यता अध्ययनका लागि थोरै बजेट छुट्याउने र पुनः त्यही संभाव्यता अध्ययनको शिर्षक ल्याउने गर्दा प्रतिफल देखिन नसकेको बताउनुभयो । गत वर्षको नीति तथा कार्यक्रममा दलितहरुको लागि संग्रहालयका लागि संभाव्यता अध्ययन गर्ने भनिएको तर त्यसको कार्यान्वयन अझै हुन नसकेको भन्दै उहाँले दलितका लागि ऐन बनाउने भनिएको पनि बन्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो ‘न त्यो ऐन बन्यो, न महिला सशक्तीकरणका लागि बनाउने भनिएको ऐन नै बन्यो ।’ यस्तै विश्वकर्माले सुरुङमार्ग र केवलकारको संभाव्यता अध्ययन यो सरकार गठनदेखि नै संभाव्यता अध्ययन हुदै आएपनि काम नभएको तरपनि त्यही दोहोरिएको बताउनुभयो । उहाँले अक्सिजनको व्यवस्थापन र अस्पतालहरुको व्यवस्थापनका लागि नीति तथा कार्यक्रमले समेट्न नसकेको बताउनुभयो । प्रदेशसभा सदस्य विश्वकर्माले कार्यान्वयन हुने नीति कार्यक्रम नआएको भन्दै दलितमाथिको अन्याय र विभेद न्यूनीकरण गर्नपनि नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेको बताउनुभयो ।

प्रदेशसभा सदस्य प्रताप प्रकाश हाङ्नामले दिए पनि, नदिए पनि, पाए पनि नपाए पनि ताप्लेजुङ जिल्लामा स्वास्थ्यको बारेमा ५० शय्या मात्रै किन ? भन्दै प्रतिप्रश्न गर्नुभयो । उहाँले तिब्बत छुने मेरिङदेन सडक यस वर्षबाट निर्माण सुरु गर्न सुझाव दिनुभयो ।

नीति तथा कार्यक्रमको छलफलमा सहभागि प्रदेशसभा सदस्य विमल कार्कीले समृद्ध प्रदेश निर्माणका लागि जस्तो सपना देखिनु पर्ने थियो त्यो नीति तथा कार्यक्रममा अभिलेखीकरण भएको बताउनुभयो । उहाँलेभन्नुभयो, ‘हामीले सपना नदेख्ने हो भने समृद्ध प्रदेश कहिल्यै निर्माण गर्न सक्दैनौं । नीति तथा कार्यक्रम हरेक वर्ष ल्याएको छौं तर त्यो ल्याएर मात्रै हुँदैन त्यो कार्यान्वयन पनि हुनुपर्छ ।’ उहाँले गत वर्षदेखि कोरोना महामारीले नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसकेको भन्दै यसलाई कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । आउँदो वर्षको नीति तथा कार्यक्रम ल्याउदा त्यसभन्दा अगाडि अघिल्लो वर्षको नीति तथा कार्यक्रमको समिक्षा पनि गर्ने व्यवस्था हुनुपर्ने बताउनुभयो । त्यसले के–के राम्रो पक्ष र के–के कमजोर पक्ष पत्ता लाग्ने र त्यसको समिक्षा गरेर आउदो वर्षको नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्कीले गैर बजेटरी खर्च गर्ने, वितीय अनुशासन तोड्नेहरुलाई कानुनी कठघारामा उभ्याउनुपर्ने बताउनुभयो । सरकारले मध्यावधी समिक्षा गरेको छ र त्यो प्रतिवेदन हामीले हेरेका छौं । तर विगतका बाधा र अवरोधहरुको तुलनामा सोचे भन्दा धेरै काम भएको उहाँले बताउनुभो । उहाँले भन्नुभयो,‘ हामीले देखेको सपना पूरा गर्न समय लाग्दो रहेछ । त्यसका लागि धैर्य गर्नैपर्छ । यो नीति तथा कार्यक्रमले आउदा वर्ष मुर्त रुप लिन्छ ।’ तर विगतमा भएका गल्ति गर्नेलाई कारबाही गर्नुपर्नेमा उहाँले जोड दिनुभुयो । मन्त्रीहरुको जिल्लालाई मात्रै समृद्ध बनाएर हुदैन प्रदेशसलाई नै समृद्ध बनाउनुपर्ने उहाँले बताउनुभयो ।

प्रदेशसभा सदस्य रामकुमार राईले २२६ बुंदाको नीति तथा कार्यक्रममा एउटा बुंदा थपेर अन्तरिक्षयानमा मान्छे पठाउने बुंदा थपिनु पर्ने भन्दै ब्यङ्ग्य गर्नुभयो । उहाँले नीति तथा कार्यक्रम पढ्दा प्रदेश अत्यन्तै सक्षम भइसकेको बुझिने तर २०७५ को रातो किताबमा आएको योजना अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताउनुभयो । नाराहरुले सिंगारिएर जनतालाई ढाट्ने, जनप्रतिनिधिलाई ढाट्ने काम भएको भन्दै उहाँले कार्यान्वयन नगर्ने नीति हामीलाई किन चाहिएको हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले जनता र संसदलाई छल्ने नीति तथा कार्यक्रमले प्रदेश समृद्ध नहुने बताउनुभयो । मेरो कृषि मेरो गौरब भन्ने नारा राम्रै रहेको भन्दै उहाँले तर कतिपय ठाउमा माछा पालनका लागि ५० औं लाख लगेर अहिले भ्यागुतासम्म नभएको अवस्था दर्शाउनुभयो । उहाँले भन्नुभयो, ‘के यहि हो लागु भएको ? के अनुगमन भयो ? प्रतिफल आयो ? त्यसैले यो नीति तथा कार्यक्रमको काम छैन ।’ यो नीति तथा कार्यक्रममा केन्द्रले कार्यान्वयन गर्ने बुंदाहरु राखेर ल्याइएको छ । विद्युत हरेक घरमा बालिनेछ तर त्यसका लागि आजसम्म एक रुपैया बजेट बिनियोजन भएको छैन । यस्तो झुटको नीति ल्याउन नपाइने उहाँले बताउनुभयो । गणतन्त्र आउनुभन्दा अगाडीसम्म विराटनगर आउनु पर्दैन थियो भन्दै उहाँले अहिले ५० हजारको कार्यक्रम सम्झौता गर्नपनि धाउनु परिहरेको बताउनुभयो ।

प्रदेशसभा सदस्य शेखरचन्द्र थापाले तीन वर्षको नीति तथा कार्यक्रममा एउटा समानता रहेको बताउनुभयो । उहाँले त्यो समानता आकर्षक नारा रहेको तर कार्यान्वयनका लागि कार्यक्रम नल्याउने गरेको बताउनुभयो । उहाँले संभाव्यता अध्ययन गर्ने भन्ने तर नगर्ने, यसबै वर्षदेखि निर्माण गर्ने भन्ने तर नगर्ने र प्रदेशको नामकरण यो वर्ष गर्ने भन्ने तर नगर्ने विशेषता नीति तथा कार्यक्रममा रहेको बताउनुभयो । थापाले यो भयग्रस्त मनस्थितिबाट निस्केको नीति तथा कार्यक्रम रहेको टीप्पणी गर्नुभयो । उहाँले संसदीय अभ्यासमा नीति तथा कार्यक्रमको जवाफ मुख्यमन्त्रीले दिनुपर्ने हो तर मुख्यमन्त्री अनुपस्थित हुनु गैर जिम्मेवारपूर्ण बन्नुभएको आरोप लगाउनुभयो ।

प्रदेशसभा सदस्य सन्झाकुमारी दनुवार एक घर एक धारा गत वर्षमै लेखिएको पनि अझै कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले महिलाहरुको पाठेघरको र स्तन क्यान्सरको कार्यक्रमले निरन्तरता पाएको छ तर प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम ल्याएपछि कार्यान्वयन नगर्दा सरकारलाई लाज लाग्नु पर्ने बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker