
सुनसरी । ईटहरी उपमहानगरपालिका २० तरहराको चौतारीचोकस्थित खार्सल खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एक दम्पतिको आज मृत्यु भएको छ ।
उदयपुरको रौतामाई घर भई चौतारीचोकमा कोठा भाडा लिई बस्दै आएका २६ वर्षीय हेमसेर राई र उनीक २३ वर्षीया पत्नी सर्मिला राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राई दम्पति कोठा नजिकैको खार्सल खोलामा मृत अबस्थामा फेला परेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय ईटहरी र प्रहरी चौकी तरहराबाट खटिएका प्रहरी टोलीले उनीहरु बसेको घरबाट बिजुलीको लाईन जोडी खोलामा लगेको भेटिएको जिल्ला प्रहरी सुनसरीले जनाएको छ ।
उनिहरुले रातीको समयमा खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा करेन्ट लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । उनिहरुको ४ वर्षीया छोरी कोठामा रहेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।