कोभिशिल्डको विकल्पमा ‘एस्ट्राजेनिका’ खोपको व्यवस्थापनमा सरकार, बेलायतलाई पत्र पठाउने तयारी

काठमाडौं । भारतबाट ल्याइएको कोरोना भाइरस विरुद्धको खोप ‘कोभिशिल्ड’ को पहिलो डोज लगाएर दोस्रो डोज लगाउन नपाएकाहरुका लागि सरकारले कोभिशिल्डको विकल्पमा एस्ट्राजेनिका खोप ल्याउने तयारी थालेको छ ।

भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुबिधा दुबैले तत्काल ‘कोभिशिल्ड’ खोप उपलब्ध नगराएपछि ‘कोभिशिल्ड’ को विकल्पमा उस्तै प्रकृतिको ‘एस्ट्राजेनिका’ खोप ल्याउने तयारीमा सरकार जुटेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले कोभिड–१९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरिएको जानकारी दिनुभएको छ । सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले नेपालका ज्येष्ठ नागरिकले खोप अभावका कारणले दोस्रो मात्राको खोप लगाउन नपाएको भन्दै तत्काल खोप उपलब्ध गराउन लागिपरेको बताउनुभएको हो ।

६५ वर्ष माथिका ज्येष्ठ नागरिकले पहिलो मात्रा खोप लगाएपनि अभावका कारण दोस्रो मात्रा लगाउन नपाएको भन्दै उहाँले भन्नुभयो, ‘ज्येष्ठ नागरिकको जीवनरक्षा गर्नका लागि समयमा नै दोस्रो मात्रा खोप लगाउन पर्ने भएकोले खोप उपलब्ध गराउन आग्रह गर्ने छौँ ।’

सरकारको आग्रहमा बेलायतले खोप चाँडै उपलब्ध गराउने समेत उहाँले विश्वास व्यक्त गर्नुभयो । खोपको पहिलो मात्रा लगाएका कम्तिमा १२ देखि १६ हप्ताभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकोले सरकारले विकल्प खोजेको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker