संसदमा समर्थनमा बोल्न मुख्यमन्त्री राईले चिठ्ठी काटेको भन्दै  सत्तारुढ दलका सांसदद्वारा विरोध

विराटनगर । मुख्यमन्त्री तथा एमालेका संसदीय दलका नेता शेरधन राईले नीति तथा कार्यक्रमको समर्थनमा बोल्न चिठ्ठी काटेर ह्विप लगाएको भन्दै सत्तारुढ दलका प्रदेशसभा सदस्यहरुले विरोध जनाउनु भएको छ ।

सत्तारुढ दल एमालेका प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेले आफ्नै सांसदहरुमाथि विश्वास नभएकाले मुख्यमन्त्री राईले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीमार्फत चिठ्ठी पठाएर ह्विप लगाएको भन्दै विरोध जनाउनु भएको हो ।

‘नीति तथा कार्यक्रमको छलफलमा भाग नलिने वचार गरेको तर विश्वास नभएर मुख्यमन्त्री ज्यूले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई चिठ्ठी लेख्न लगाएकोले छलफलमा भागलिन बाध्य भएको छु,’ उहाँले भन्नुभयो, ‘माननीय ज्यूहरुले रोष्टममा आएर यो नीति तथा कार्यक्रमको समर्थनमा बोलेर भाग लिइदिनु होला भनेर चिठ्ठी लेखेको छ ।’

सरकार किन यति साह्रो डराएको सत्तापक्षकै प्रदेशसभा सदस्यहरुलाई चिठ्ठी काटेर नीति तथा कार्यक्रमको समर्थनमा बोल्न ह्विप लगाउनु आपत्तिजनक विषय भएको घिमिरेको भनाई थियो ।

‘नीति तथा कार्यक्रमको पक्षमा बोल्नकै लागि चिठ्ठी काट्नु उपयुक्त होइन त्यसैले यो विषयमा आत्मालोचना गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘ढाटको निम्ति खाइ पत्याउने नीति तथा कार्यक्रम पारित गराउन ताली पडकाई दिन मिल्छ ? सूचनाको हक समेत उपभोग गर्न नपाइने, बोल्दा पनि समर्थनमै बोल्नु पर्ने बडो बिचित्रको संसदीय अभ्यास गरिरहेका छौं ।’

प्रमुख सचेतक राजभण्डारीले कार्य व्यवस्था परामर्श समितिमा शुक्रबार र शनिबार नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची तय भएपछि म्यासेन्जरमा सत्तारुढ दलका सबै प्रदेशसभा सदस्यहरुलाई जानकारी गराएको बताउनुभयो ।

‘म्यासेन्जरमा नीति तथा कार्यक्रमको सूचना दिएकोलाई प्रदेशसभा सदस्य ज्यूहरुले चिठ्ठी बुझेपछि कसैको केही लाग्छ ?,’ उहाँले भन्नुभयो, ‘कार्य व्यवस्था परामर्श समितिमा सहभागी भएकोले त्यहाँबाट आएको सूचना सम्प्रेशन गर्ने धर्म मात्रै मैले निर्वाह गरेको छु ।’

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker