
काठमाडौं । माध्यामिक शिक्षा परिक्षा (एसईई) को परिक्षाफल साउनको दोस्रो साता आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा साउन दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी सुरु गरेको हो ।
असार २० गतेभित्र सबै विद्यालयलाई आन्तरिक मूल्यांकन पठाउन निर्देशन जानकारी दिँदै बोर्डले कुनै अवरोध नभए साउन १५ भित्र नतिजा सार्वजनिक गर्नेगरी काम सुरु गरेको बोर्डले जनाएको छ । विद्यार्थीको आन्तरिक मूल्यांकनबाट प्राप्त नतिजा असार २० गतेभित्र जिल्ला समन्वय एकाई कार्यालयमा पठाइसक्नुपर्ने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गर्दै असार २० गतेसम्ममा सबै विद्यालयले आफ्ना विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरी पठाउने समयसीमा निर्धारण गरेको बोर्डका अध्यक्ष प्रा चन्द्रमणि पौडेलले जानकारी दिनुभएको छ ।
असारअन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसइईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारीलगायतको काम बोर्डले गर्ने छ ।
बोर्डले विद्यार्थीको आन्तरिक मूल्याङ्न गर्न मुख्य विषय शिक्षकहरूलाई जिम्मेवार बनाउँदै विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अङ्ग्रेजी, गणित र विज्ञान शिक्षक गरी पाँच जना सम्मिलित पाँच सदस्यीय समिति बनाएर काम गर्न निर्देशन गरेको छ । आन्तरिक मुल्याङ्कनको सिफारिसमा सवै सदस्यको हस्ताक्षर हुनुपर्ने छ ।