
विराटनगर । प्रदेश १ सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ का लागि युवा, खेलकूद तथा श्रम तथा रोजगार क्षेत्रको विकासको लागि रू–१६ करोड विनियोजन गरिएको छ । बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री टंक आङ्बुहाङले मुख्यमन्त्री युवा उद्यमशिलता कार्यक्रमका लागि १० करोड विनियोजन गरेको बताउनुभयो ।
प्रस्तुत छ युवा, खेलकूद तथा श्रम तथा रोजगार क्षेत्रका लागि बजेटले सम्बोधन गरेका विषय जस्ताको त्यस्तै :
कोभिड–१९ का कारण रोजगारी गुमाएका तथा आफ्नै लगानीमा व्यवसाय शुरु गर्न नसक्ने युवाहरू, वैदेशिक रोजगारीबाट फर्किएका र अतिविपन्न तथा पेशा व्यवसाय बन्द गर्नुपर्ने बाध्यतामा परेकाहरूलाई प्रत्यक्ष लाभ प्रदान गर्न संघ, स्थानीय तह तथा विकास साझेदारसँगको समन्वय र सहकार्यमा मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छु।
यसको विद्यमान ढाँचामा परिमार्जन गरी सहुलियतपूर्ण कर्जा तथा ब्याज अनुदान लगायतका सुविधा प्रदान गरिनेछ। मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रमका लागि रु.१० करोड विनियोजन गरेको छु ।
प्रदेशमा खेलकुदको प्रवर्द्धन, उन्नति र विकासका लागि प्रदेश खेलकुद बोर्ड गठन गरिनेछ। प्रदेशका सबै माध्यमिक विद्यालयमा स्काउटको कार्यक्रम सञ्चालन गरिनेछ।
सबै खेलविधाहरुलाई प्राथमिकतामा राखी मुख्यमन्त्री कप तथा राष्ट्रिय लिग फुटबल प्रतियोगिता सञ्चालन गरिनेछ। एक पालिका एक खेल मैदान निर्माण कार्यलाई निरन्तरता दिएको छु ।
साहसिक पर्यटकीय खेलहरुलाई प्राथमिकतामा राखी आवश्यक पूर्वाधार निर्माण, संचालनर व्यवस्थापनमा निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाएको छु। युवा, खेलकूद तथा श्रम तथा रोजगार क्षेत्रको विकासको लागि रू.१६ करोड विनियोजन गरेको छु।
