भौतिक पूर्वाधार तथा यातायात क्षेत्रलाई प्रदेश १ मा १३ अर्ब २१ करोड विनियोजन

विराटनगर । भौतिक पूर्वाधार तथा यातायात क्षेत्रलाई प्रदेश १ मा १३ अर्ब २१ करोड विनियोजन भएको छ । आज आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ्ले प्रस्तुत गर्नुभएको बजेटमा विराटचोक हरैचा घिनाघाट सडकलाई प्राथमिकता दिँदै ५ अर्ब २१ करोड विनियोजन गरिएको छ ।

प्रस्तुत छ भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा भएको बजेट मन्तव्य जस्ताको त्यस्तै:

प्रदेशको गौरवको रुपमा रहेका विराटचौक-हरैचा-घिनाघाट तथा स्रोत सुनिश्चित भै दायित्व सिर्जना भैसकेका बहुवर्षीय सडक आयोजनाहरुलाई प्राथमिकता साथ सम्पन्न गर्ने प्रयोजनका लागि रू.५ अर्ब २१ करोड विनियोजन गरेको छु।

बहुवर्षीय सडक र मुख्यमन्त्री ग्रामीण सडक अन्तर्गत सञ्चालित आयोजनाहरुलाई प्राथमिकताको आधारमा नेपाल सरकारको स्थानीय तहको केन्द्रलाई सडकले जोड्ने प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सँग एकीकृत गरी प्राथमिकताका साथ सञ्चालन गर्ने व्यवस्था मिलाएको छु। मुख्यमन्त्री ग्रामीण सडक आयोजनाका लागि रू.३२ करोड ७० लाख विनियोजन गरेको छु।

कोरोना महामारीको विद्यमान परिस्थिति र स्रोत सुनिश्चित भएका बहुबर्षीय आयोजनाहरूबाट स्रोत माथि परेको चापलाई ध्यान दिइ हालको कार्यविधि संशोधन मार्फत स्थानीय पूर्वाधार विकास कार्यक्रम तथा निर्वाचन क्षेत्र विशेष कार्यक्रमको लागि बजेट विनियोजन गरेको छु ।

यातायात क्षेत्रको सेवा प्रवाहलाई शीघ्र, भरपर्दो र आधुनिक बनाउन सवारी साधन दर्ता नविकरण, ईजाजतपत्र, नामसारी लगायतका सेवाहरु विद्युतीय माध्यमबाटै प्रदान गरिनेछ । यसका लागि आगामी आर्थिक वर्षको प्रारम्भ देखि नै सवारी साधनको दर्ता तथा व्यवस्थापन प्रणाली लागू गर्ने व्यवस्था मिलाएको छु ।

स्थानीय स्तरमा झोलुङ्गे पुल, ट्रष्ट ब्रिज तथा मोटरेबल पुल निर्माण गर्ने कार्यलाई निरन्तरता दिएको छु । भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा कूल रू. १३ अर्ब २१ करोड विनियोजन गरेको छु।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker