विपन्न तथा पिछडिएका समुदायका लागि ३ हजार घर निर्माण गरिने

विराटनगर । प्रदेश १ सरकारले विपन्न तथा पिछडिएका समुदायका लागि आउँदो आर्थिक वर्षमा ३ हजार घर निर्माण गर्ने भएको छ । यसै आर्थिक वर्षको अन्त्यसम्म ४ हजार ५ सय घर निर्माण कार्य सम्पन्न हुने भन्दै आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले यो आ.व.मा थप ३ हजार घर निर्माणका लागि बजेट बिनियोजन गरेको बताउनुभयो ।

प्रस्तुत छ, आवास तथा शहरी विकासका क्षेत्रमा मन्त्री आङ्बुहाङले प्रस्तुत गर्नुभएको बजेट मन्तव्य : 

प्रदेश सरकारको केन्द्रीय सचिवालयलगायत अन्य भौतिक पूर्वाधारको निर्माण, वृहत विराट क्षेत्रको विकासका लागि चक्रपथ तथा आधुनिक तथा प्रविधिमैत्री प्रादेशिक बसपार्क निर्माणको लागि विस्तृत अध्ययन तथा गुरू योजना तयार गर्न आवश्यक रकम विनियोजन गरेको छु। कोशी रिफ्रेसर सेन्टर निर्माण कार्यलाई निरन्तरता दिएको छु ।

संघर्षपूर्ण राजनीतिक विरासतलाई सम्मान र अभिलेख गर्न ऐतिहासिक भूमि ढुङ्गेसाँघु, शहिदभूमि छिन्ताङ, सुखानी तथा ऐतिहासिक भूमि उर्लाबारीमा प्रेरणादायी स्मृतिकेन्द्र निर्माणका लागि रू. ५ करोड विनियोजन गरेको छु । यस्तै प्रदेश भित्र राजनेता पार्क स्थापना गर्न रू. १ करोड बिनियोजन गरेको छु।

राजनीतिक र सामाजिक परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने रामप्रसाद राई, नारदमुनी थुलुङ्ग, मनमोहन अधिकारी, मदन भण्डारी, गिरिजा प्रसाद कोईराला, सुशील कोईराला, सूर्य बहादर थापा, कृष्ण प्रसाद भट्टराई, नोना कोईराला, भरतमोहन अधिकारी, वालागुरू षडानन्द र योगमायाको सम्मानमा स्थापित स्मृति प्रतिष्ठान, फाउण्डेशन, अध्ययनकेन्द्रलाई अनुदान प्रदान गर्न रू. ३ करोड विनियोजन गरेको छु।

नेपाल सरकारको सहकार्यमा सञ्चालित हुने जनता आवास कार्यक्रमलाई निरन्तरता दिएको छु । विपन्न तथा पिछडिएका समुदायका लागि सञ्चालित यस कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षको अन्त्यसम्ममा करिव ४५ सय घर निर्माण सम्पन्न भइसक्ने र आगामी आर्थिक वर्षमा थप ३ हजार घर निर्माण शुरू गर्न रू. ४६ करोड विनियोजन गरेको छु।

जोखिममा परेका वस्तिहरुलाई एकीकृत वस्तिको रूपमा पुनःस्थापना गरिने छ । ओखलढुङ्गाको रुम्जाटार, भोजपुरको पान्धारे, मोरङ्गको राजारानी, ईलामको सन्दकपुर र ताप्लेजुङ्गको घुन्सामा स्मार्ट सिटी तथा नमूना गाउँ निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययनको कार्य सम्पन्न गरिनेछ । संघ, स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा स्मार्ट सिटी तथा नमूना गाउँ निर्माण गर्ने वन्दोवस्त मिलाएको छु।

आर्थिक रूपले अतिविपन्न परिवारहरूको आवास सुधारका लागि नेपाल सरकारको सहकार्यमा खरको छाना विस्थापन गरी जस्ताको छाना निर्माण गर्ने व्यवस्था मिलाएको छु।

स्थानीय पालिकासँगको सहकार्यमा भवन आचार संहिता तथा भवन मापदण्डको कार्यान्वयन गरिनेछ । ठूला शहरमा विकसित हुँदै गएको सामूहिक आवास तथा बहुतले आवासको योजनाको सहजीकरण, अनुगमन र नियन्त्रण गर्न आवश्यक प्रशासनिक तथा कानुनी व्यवस्था मिलाईने छ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker