पुनः पार्टी सभापतिमा दोहोर्‍याउन देउवाले थाले नेताहरुसँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पुनः सभापतिको उम्मेदवार बन्नका लागि पार्टीका नेताहरुसँग परामर्श थाल्नुभएको छ । देउवाले काठमाडौंमा उपस्थित आफ्ना पक्षका प्रदेश १ का केन्द्रिय सदस्यहरुसँग परामर्श गरेको हो ।

देउवाले दोस्रो पटक पार्टीको नेतृत्व लिएर लोकतन्त्र र संविधान कार्यान्वयन गर्दै कांग्रेसलाई देशको ठूलो पार्टी बनाउने लक्ष्य पूरा गर्न सभापतिमा दोहोर्‍याउन खोजेको छलफलमा सहभागी एक नेताले बताउनुभयो ।

छलफलमा सहभागी नेताहरुले सबैको सहयोग र समर्थन जुटाएर १४ औं महाधिवेशनलाई एकताको अधिवेशन गराउन सुझाव दिनुभएको छ । प्रदेश १ मा देउवा पक्षका कोही पनि नेताले सभापतिमा दावी प्रस्तुत गरेनन् ।

छलफलमा सहभागी नेताहरुले अघिल्लो महाधिवेशनमा सघाएकाहरुबाट अरु कोही सभापतिको उम्मेदवार नबन्ने गरी तयारी गर्न सुझाव दिएको छ । अघिल्लो महाधिवेशनमा सघाएका उपसभापति विमलेन्द्र निधीले देउवालाई पार्टी सभापतिका लागि सघाउन आग्रह गरेका थिए ।

सभापति देउवाले निधीलाई भेटेर छलफल गर्नुभएको छ । तर छलफलमा भएको कुरो बाहिर आएको छैन । उपसभापति निधीले सभापतिमा उठ्ने इच्छा व्यक्त गरेको एक नेताले बताए । निधीले १४ औं महाधिवेशनमा देउवालाई सघाउने पक्षमा नरहेको बुढानिलकण्ठ स्रोतको भनाई छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker