प्रदेशका मन्त्रीहरु कमिसनको सेटिङमा लागेको प्रमुख सचेतक कार्कीको आरोप

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका मन्त्रीहरु नै कमिसनको सेटिङमा लिप्त हुँदा सरकार प्रतिको विश्वास क्षिण हुँदै गएको आरोप लगाउनुभएको छ ।

नेपाल प्रेस युनियन ओखलढुंगाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले प्रदेश सरकार तस्करहरुको घेराबन्दीबाट बाहिर निस्कनै नसकेको आरोप लगाउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘घेराबन्दीभित्र रहेर विकास निर्माण, कोभिड नियन्त्रण, स्वास्थ्य सामग्री र औषधि खरिदमा ठूलो अनियमितता भएको छ । खोपको समानुपातिक वितरण हुन नसक्नुका साथै कात्रो किन्न समेत सेटिङ मिलाएर कमिसनको चक्करमा लागेको देखिन्छ ।’

उहाँले प्रदेश एक आर्थिक, सामाजिक, भौगोलिक, पर्यटकीय, धार्मिक, जातीय तथा भाषिक हिसावले देशकै एक नम्बरमा आउने सम्भावना बोकेको भएपनि सरकारको कार्यशैलीले कमजोर भएको बताउनुभयो ।

सरकारमा रहेको दलभित्र एक समूहले अर्कोलाई पाखा लगाएर चलखेलमा विकाससँग सम्बन्धित ठेक्का दिने गरेको उहाँको आरोप छ । मुख्यमन्त्री जनताको सेवक भन्दा पनि शासक बन्न थालेकाले धेरै कार्यक्रम मुख्यमन्त्रीका नाममा ल्याइएको कार्कीले टिप्पणी गर्नुभयो ।

आफू निकटका कार्यकर्ताको भरणपोषणमा केन्द्रीत हुने गरी आएका कार्यक्रमले जनताको जनजीविकामा फरक परेको छैन । उहाँले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटसमेत भैंसीलाई एकमुठ्ठी चामल दिएर अघाउन लगाए जस्तै भएको टिप्पणी गर्नुभयो ।

प्रदेश १ का भौतिक पूर्वाधार मन्त्री आफ्नो वडामा अल्मलिएको भन्दै कार्कीले मन्त्रीले प्रदेशभित्र अरु जिल्ला र आफ्नै जिल्लामा समेत अन्य स्थानीय तह तथा वडाहरु छन भन्ने हेक्का नराखेको उहाँले आरोप लगाउनुभयो ।

‘प्रदेशका मन्त्रीहरु आफ्नै वडाहरुमा अल्मलिने हो भने त्यस्ता मन्त्रीले सिंगो प्रदेशको नेतृत्व कसरी गर्छन । विकास र बजेट आफ्नो वडामा खन्याउनेले प्रदेशको वृहत्तर विकासबारे सोच्न सक्लान ?’ कार्कीले भन्नुभयो, ‘वडामा मात्र सीमित हुने भए प्रदेशका मन्त्रीहरु वडाको अध्यक्ष भएर बसे भइहाल्यो नी ।’

अहिलेसम्म प्रदेशको नामाकरण गर्न नसकेको सरकारले प्रदेशका जनताको भावना बुझनु नसक्ने र एमालेभित्रकै आन्तरिक कलहलाई व्यवस्थापन गर्न नसक्दा बहुमतको प्रदेश सरकार केही समयभित्रै समाप्त हुने कार्कीले दावी गर्नुभयो ।

कांग्रेस राजनीति बारे बोल्दै उहाँले भदौं १९ सम्ममा नेपाली कांग्रेसको चौधौ महाधिवेशन अनिवार्य गर्नुपर्ने भएकोले लोकतन्त्र र पर्टीलाई सशक्त बनाउने नेतृत्वको खोजी भईरहेको बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker