जनताको स्वास्थ्यप्रति राष्ट्रपति भण्डारीको चासो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ रोकथाम र नियन्त्रणमा सरकारले गरिरहेको कामका बिषयमा जानकारी लिनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङ र मन्त्रालयका पदाधिकारीलाई राष्ट्रपति भवन शीतलनिवासमा बोलाएर यस्तो जानकारी लिनुभएको हो ।

उहाँले कोभिड–१९ सङ्क्रमण र त्यसविरुद्धको खोप लगाउने अभियानका बिषयमा चासो ब्यक्त गर्नुभएको छ । उहाँले खोपको वर्तमान अवस्था, उचित व्यवस्थापन, रोकथाम र समग्र स्वास्थ्य प्रणालीको व्यवस्थापनको लागि भइरहेका तयारीबारे जानकारी लिनुभएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभएको छ ।

उहाँले जनताको स्वास्थ्यप्रति चासो ब्यक्त गर्दै कोभिड–१९ नियन्त्रण सम्बन्धी कामलाई थप प्रभावकारी एवं व्यवस्थित बनाउन र नेपाली जनताको जीवनरक्षाका लागि खोप अभियानलाई प्राथमिकताका आधारमा सञ्चालन गर्न जोड दिनुभएको हो ।

राष्ट्रपति भण्डारीले स्वास्थ्य सेवा राज्यको जिम्मेवारी भएकाले स्वास्थ्य संस्थाको स्तरोन्नति गर्न र आम नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन मन्त्री तथा पदाधिकारीको ध्यानाकर्षण गराउनुभयो । उहाँले वैकल्पिक तथा प्राकृतिक उपचारमा लगानी बढाउन समेत सुझाव दिनुभएको छ ।

यस्तै राष्ट्रपति भण्डारीले कान्ति बाल अस्पतालको सुधार गरी बालबालिकाका लागि उपयुक्त स्वास्थ्य सेवाको व्यवस्था गर्न र निजी तथा सामुदायिक अस्पतालको सेवालाई सहज बनाउन सुझाव दिँदै कोभिड– १९ को विरुद्ध अग्रपंक्तिमा खटिने स्वास्थ्यक्षेत्रका सवैको प्रशंसा गर्नुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker