लागुऔषधसहित ५ जना पक्राउ

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाबाट प्रहरीले गएराती ५ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । दक्षिणवर्ती भारतीय सीमाक्षेत्रबाट मोटरसाइलकमा आउँदै गरेकाहरुलाई चेकजाँचको क्रममा उनीहरु लागुऔषध सहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा सुनसरीको ईटहरी –७ का ३५ वर्षीय सुजन भनिने ललित चौधरी, मोरङको कानेपोखरी–७ का २० वर्षीय महेश चौधरी र १९ वर्षीय भत्तेल भनिने समिर चौधरी, पथरी शनिश्चरे –४ का २५ वर्षीय प्रकाश लिम्बु र २० वर्षीय बिमल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दक्षिणबाट आउदै गरेको प्र.१–०२–०४५ प ३९७३ नंम्बरको रातो पल्सर मोटरसाईकलमा सवार तीनै जना चौधरीलाई चेकजाँच गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थ दुई पोका (अन्दाजी १४ ग्राम ) बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै गएराती नै सोहि ठाउँमा दक्षिणबाट आउदै गरेको को ४ प ९१८० नम्वरको कालो साईन मोटरसाईकलमा सवार लिम्बु र तामाङलाई विभिन्न लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा मोटरसाईकल चालक लिम्बुको पाइन्टको गोजीबाट डाइजेल्याब १० पिस, फेनारगन १० पिस, आइपेल १० पिस र ट्रमोल २० पत्ता बरामद गरेको थियो ।

पक्राउ परेका पाँच जनालाई नै लागुऔषध कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker