प्रदेशको वास्तविक धरातलमा टेकेर बजेट ल्याउँदा धेरै क्षेत्रमा बजेट कम भयो : मन्त्री आङ्बुहाङ

विराटनगर । प्रदेश १ सभामा मंगलबार आर्थिक वर्ष २०७८/७९ को बजेटमाथिको छलफल सकिएको छ । छलफलमा प्रदेशसभा सदस्यहरुले उठाएको प्रश्नमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले आफूले गत, विगतभन्दा यस वर्ष वास्तविक धरातलमा टेकेर यथार्थपरक बजेट ल्याएकोले सबै क्षेत्रमा बजेट घटेको जवाफ दिनुभएको छ ।

पूजाआजामा बजेट विनियोजन भएको प्रति प्रदेशसभा सदस्यहरुले आलोचना गर्नु अनुचित भएको आङ्बुहाङले बताउनुभएको हो । ‘मनेरञ्जन, संस्कृति, धर्म शिर्षकमा २२ करोड ६० लाख विनियोजन गरेको छु, उहाँले भन्नुभयो, ‘जसमा मनोरञ्जनात्मक तथा खेलकुद सेवातर्फ १८ करोड ७३ लाख, अनुसन्धान तथा विकास सांस्कृतिक, धार्मिक, भाष, कला, संस्कृति, पूरातत्व संरक्षण, पुस्तकालय विकास कार्यक्रमका लागि १ करोड ३१ लाख र मनोरन्जन, संस्कृति, धर्म अन्य वर्गीकरण नभएको शिर्षकमा २ करोड ५६ लाख ८४ हजार विनियोजन गरिएको छ ।’

मनोरञ्जनात्मक तथा खेलकुद सेवा शिर्षकअन्तर्गत राष्ट्रिय युवा परिषद संघ शसर्त अनुदानमा १९ लाख, राष्ट्रिय खेलकुद परिषद संघ शसर्त अनुदान २ करोड ७७ लाख, राष्ट्रिय युवा संघ परिचालन शसर्त अनुदान ५ करोड ५५ लाख, युवा तथा खेलकुद कार्यक्रममा १० करोड २२ लाख विनियोजन गरेको आनङ्बुहाङले बतउनुभयो ।

यस्तै, मनोरन्जन, संस्कृति, धर्म अन्य वर्गीकरण नभएको शिर्षकअन्तर्गत पर्यटन विकास कार्यालयमा १ करोड ४८ लाख २७ हजार, प्रदेश संग्रहालयका लागि १ करोड ८ लाख ५७ हजार बजेट विनियोजन गरिएको उहाँले प्रष्टीकरण दिनुभएको छ ।

पूँजिगतभन्दा चालुतर्फको खर्च बढी भएको प्रदेशसभा सदस्यहरुले उठाएको प्रश्न यथार्थपरक नभएको आङ्बुहाङको भनाई छ । ‘पूँजगततर्फ १५ अर्ब ५ करोड र चालुतर्फ विनियोजित बजेटमा विकास कार्यक्रम खर्च ७ अर्ब ४० करोड र स्थानीय तहको वित्तीय हस्तान्तरण ३ अर्ब २२ करोड रहेको छ,’ उहाँले भन्नुभयो, ‘यसरी पूँजीगत विकास खर्चतर्फ कूल बजेटको ७९ प्रतिशत अर्थात् २५ अर्ब ६७ करोड ७९ लाख बजेट विनियोजन गरेको छु ।’

ऐनमा व्यवस्था भए अनुसार पदाधिकारी र कर्मचारीहरुको भत्ता बजेटमा कटौति भए पनि त्यसको लागि बजेटको व्यवस्था गर्ने आङ्बुहाङले प्रतिबद्धता जनाउनुभयो ।

कोभिड १९ नियन्त्रण, रोकथाम र उपचार लगायत समग्र स्वास्थ्य क्षेत्रमा अपेक्षाकृत ढंगले बजेट विनियोजन गर्न नसकेको उहाँले स्विकार्नुभयो । ‘प्रदेशमा आवश्यकता अनन्त र स्रोत साधन सिमित भएकोले कुनैपनि क्षेत्रमा आवश्यकता अनुसारको बजेट विनियोजन हुन सकेको छैन,’ आङ्बुहाङले भन्नुभयो, ‘अस्पतालहरुको स्तरोन्नतिका लागि भौतिक पूर्वाधारसँगै जनशक्तिको पनि व्यवस्थापन गर्दै लग्ने व्यवस्था गर्छु ।’

बजेटमा कोभिड १९ बाट जोगिन जनचेतना र रोग लागेपछि भौतिक निर्माण र उपकरणहरु खरिद गर्ने विषयमा वास्तविक धारातलमा नै टेकेर बजेट विनियोजन गरेको उहाँले प्रष्टीकरण दिनुभयो । शिक्षा क्षेत्रमा भौतिक पूर्वाधारका साथै गुणस्तरीय शिक्षा, सीपमूलक शिक्षा, प्रविधिमैत्री शिक्षाका लागि प्रदेशको सामथ्र्यकै आधारमा बजेट विनियोजन गरेको आङ्बुहाङको भनाई थियो ।

गत, विगत वर्षको बजेटहरुमा मध्यकालिन खर्च संरचना अनुसार सतप्रतिशत बजेट नआएको तर आफूले यस वर्ष मध्यकालिन खर्च संरचनाका आधारमाा बजेट ल्याएको उहाँले दावी गर्नुभयो । प्रदेशसभा सदस्यहरुले बहुबर्षी तथा स्रोत सुनिश्चित भएका योजनाहरुमा बजेट कम विनियोजन भएको उहाँले स्विकार्नुभयो ।

‘स्रोत सुनिश्चित भएका योजनाहरुका लागि करिव ५० अर्ब बजेट आवश्यक रहेको अवस्थामा ३२ अर्ब हाराहारीको बजेट आउँदा बजेट कम विनियोजन हुनु स्वभाविक हो,’ आङ्बुहाङले भन्नुभयो, ‘त्यसैले पूरानै योजनाहरुलाई निरन्तरता दिदै थोरै नयाँ योजनाहरु यस वर्षको बजेटमा समावेश गरेको छु ।’

प्रदेशको बजेट संघीय सरकारको अनुदानमै आश्रित रहेको उहाँले स्विकार्नुभयो । ‘राजश्व अभिवृद्धि गर्ने प्रयास प्रदेश सरकार स्थापना भएदेखि नै हुँदै आए पनि परिणाम देखिन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘त्यसैले राजश्व वृद्धिका साथै आत्मनिर्भर प्रदेश निर्माणका लागि विज्ञसहितको राजश्व अनुसन्धान अध्ययन समिति गठन गरेर अध्ययन गरेपछि आउने सुझावका आधारमा काम अघि बढाउन बजेटमा व्यवस्था गरेको छु ।’ उहाँले आर्थिक वृद्धिदरको लक्ष्य हावादारी नभएको जिकिर गर्नुभयो ।

प्रदेशसभा सदस्यहरुले प्रश्न उठाएको मुख्यमन्त्रीको नाम जोडिएका योजनाहरुमा र गाडी खरिदका लागि बजेट विनियोजन गरिएको विषयमा उहाँले केही जवाफ दिनु भएन । आङ्बुहाङले आउँदो आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाखको अनुमानित बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker