
विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजारको अनुमानित बजेट बिहीबार प्रस्तुत गरेको छ ।
महानगर उपप्रमुख इन्दिरा कार्कीले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ४६ करोड ७० लाख ५२ हजार ९२५ रुपैयाँ अर्थात् ११ दशमलव ३९ प्रतिशत, पूँजिगततर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार ७५ रुपैयाँ अर्थात् ८९ दशमलव ३९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ५ करोड बजेट विनियोजन गरेको छ ।
बजेटको स्रोतमा आन्तरिक स्रोततर्फ ८३ करोड ९ लाख २५ हजार ३२५ रुपैयाँ, अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ संघीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख र प्रदेश सरकारबाट ४ करोड ९० लाख १५ हजार, राजश्व बाँडफाँडबाट १ अर्ब १ करोड ४७ लाख ८३ हजार प्राप्त हुने अनुमान गरेको उपप्रमुख कार्कीले बताउनुभयो ।
यस्तै, अनुदान ऋणबाट ७० करोड ५५ लाख ८ हजार ५ सय, संघसंस्थातर्फ १ करोड ४४ लाख ५५ हजार, जनसहभागिताबाट १० करोड र चालु आर्थिक वर्षको नगद मौजदात १९ करोड ३ लाख ५१ हजार १७५ रुपैयाँ बजेटको स्रोत व्यहोरिने उहाँले बताउनुभयो ।
बजेटमा पूर्वाधार विकास क्षेत्रमा २ अर्ब ४ करोड ३९ लाख ४८ हजार, आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सामाजिक विकासतर्फ १ अर्ब २६ करोड ६९ लाख १ हजार २७ रुपैयाँ, सुशासन, विपद व्यवस्थापन, वन तथा वातावरणलगायतका क्षत्रतर्फ ९ करोड ३७ लाख ५० हजार विनियोजन गरेको कार्कीले बताउनुभयो ।
महानगरले आउँदो वर्षका लागि ल्याएको बजेटमा नगर गौरबको आयोजनाअन्तर्गत मुख्यम प्रशासनिक भवन निर्माणका लागि १७ करोड ३८ लाख, विरेन्द्रसभा गृहको मर्मत संभावर तथा स्तरोन्नतिका लागि १९ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

यस्तै, ल्याण्डफिल्ड साइटका लागि जग्गा खरिद गर्न १० करोड, अन्तर्राष्ट्रिय सभाहलका लागि जग्गा खरिद गर्न ५ करोड, विराट राजाको दरवार क्षेत्र विकासका लागि ५ करोड, महानगर आवास योजनाका लागि ९० लाख, आरयूडिपी परियोजनाको लागि १ करोड बजेट विनियोजन गरिएको छ ।
यस्तै, वडास्तरीय आयोजनाका लागि २६ करोड ७८ लाख ५ हजार १७५ रुपैयाँ, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड, चार वटा फ्लाइओभर ब्रिज निर्माणका लागि २ करोड ४५ लाख, प्रधानमन्त्री पार्क निर्माणका लागि ५ करोड, सन्ध्याकालिन आरती निर्माणका लागि २ करोड बजेट महानगरले विनियोजन गरेको छ ।
नगरस्तरीय योजनाका लागि ५५ करोड, समपुरक कोषका लागि २० करोड १९ लाख २८ हजार ३७३ रुपैयाँ, क्रमागत योजनाको भुक्तानीका लागि २५ करोड ३५ लाख ४७ हजार, शिक्षातर्फ ५५ करोड ७७ लाख ४९ हजार, युवा तथा खेलकुदतर्फ १ करोड ६१ लाख, स्वास्थ्यतर्फ १८ करोड १ लाख २८ हजार, विपद व्यवस्थापन तथा महामारी नियन्त्रणका लागि ३ करोड बजेट विनियोजन गरेको उपप्रमुख कार्कीले बताउनुभयो ।
कोरोना महामारीका बीच ल्याएको बजेटको पहिलो प्राथमिकतामा सहरी पूर्वाधार, दोस्रोमा गुणस्तरीय शिक्षा, स्वास्थ्य र पोषण, तेस्रोमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण र त्यसपछि फोहोरमैलाको दिगो व्यवस्थापन रहेको छ ।
महानगरले विपन्न सुकुम्बासीको स्वास्थ्य विमाका लागि ५० प्रतिशत अनुदान दिने बजेटमा व्यवस्था गरेको छ । यस्तै, महानगरले तारणी प्रसाद सञ्चारग्राममा एफएम सञ्चालन गर्ने, कर्मचारीलाई १० दिन पर्यटन काज विदा दिनेलगायतका कार्यक्रम ल्याएको छ ।
महानगरले चालु आर्थिक वर्षका लागि ल्याएको ४ अर्ब २३ करोड ३ लाख ७० हजार ५७९ रुपैयाँको थियो । जसमा चालु आर्थिक वर्षको १० महिनामा १ अर्ब ४४ करोड ९९ लाख ९ हजार ६९५ रुपैया“मात्रै आय भएको उपप्रमुख कार्कीले बताउनुभयो ।
उहाँले चालु आबका लागि अनुमान गरिएको आन्तरिक आय ९५ करोड ७५ लाख ५४ हजार ८५१ रुपैयाँ अनुमान गरिएकोमा १० महिनाको अवधिमा ३१ करोड ३८ लाख ७ हजार ४१० अर्थात् ३२ प्रतिशत मात्रै प्राप्त भएको बताउनुभयो ।