माओवादी केन्द्रद्वारा मंगलबार दोस्रो दिनपनि प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । प्रदेश १ का विपक्षी दल माओवादी केन्द्रले प्रदेशसभा बैठक मंगलबार दोस्रो दिनपनि अवरुद्ध गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटको भौतिक पूर्वाधार क्षेत्रको विषयगत छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा आइतबार भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले सदनमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रले अवरुद्ध गरेको हो ।

सभामुख प्रदिपकुमार भण्डारीले सदन सुचारु गर्ने बित्तिकै माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले आ–आफ्ना सिटबाट उठेर सदन अवरुद्ध गरेका थिए । सदन अवरुद्ध गरेपछि सभामुख भण्डारीले पटक पटक बस्न आग्रह गर्दासमेत नबसेपछि आउँदो २० गते १२ः३० बजेसम्मका लागि सदन स्थगित गर्नुभयो ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले मन्त्री गुरुङले सदनमा आत्मालोचनासहित माफी माग्नु पर्ने र सदनको रेकर्डबाट उनको भनाई हटाउनु पर्ने माग गर्नुभएको छ ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य मोहनकुमार खड्काले विनियोजन विधेयकको भौतिक पूर्वाधार विषयको छलफलमा भाग लिदै मन्त्री गुरुङलाई कमिशन खानेलगायतको आरोप लगाउँदै आलोचना गर्नुभएको थियो ।

प्रदेशसभा सदस्य खड्काले लगाएको आरोपको खण्डन गर्दै मन्त्री गुरुङले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रले सदन अवरुद्ध गर्दै आएको हो ।

सत्तारुढ दल एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले ताली एक हातले नबजे जस्तै गाली पनि कसैले एकतर्फी नगर्ने बताउनुभयो । ‘कमजोरी दुबैतर्फबाट भएको हो,’ उहाँले भन्नुभयो, ‘माननीय मन्त्री ज्युले पनि सदनमा नामै तोकेर भन्नु कमजोरी हो तर त्यसभन्दा अगाडि माओवादी केन्द्रका माननीय मोहन खड्का ज्यूले पनि त तथानाम बोल्नु भएको सबैले सुन्नु भएको छ ।’

नामै तोकेर सदनमा बोलेकोमा कमजोरी भएको मन्त्री गुरुङले स्विकारेको राजभण्डारीको भनाई थियो । तर प्रदेशसभा सदस्य खड्काले पनि मन्त्री गुरुङको नामै तोकेर तथानाम गाली गरेको अबस्थामा दुबै पक्षले गल्ती स्विकार्नु पर्ने उहाँले बताउनुभयो ।

‘प्रदेशसभा सदस्यले तथानाम बोल्नु हुने र मन्त्रीले बोल्नु नहुने कानुनमा कही लेखिएको छैन,’ उहाँले भन्नुभयो, ‘त्यसैले माननीय प्रदेशसभा सदस्य खड्का ज्यूले सदनमा मैले बोल्नु नपर्ने कुरो बोलेकोले क्षमाप्रार्थि छु भन्दै बोलेको कुरा रेकर्डबाट हटाइयोस् भनेपछि मात्रै मन्त्री ज्यूले पनि सदनमा क्षमा मागेर रेकर्डबाट हटाउन भन्नुहुन्छ ।’

तर प्रदेशसभा सदस्य खडकाले माफी नमागेसम्म मन्त्री ज्यूले पनि माफी नमाग्ने एमाले संसदीय दलको ठहर रहेको प्रमुख सचेतक राजभण्डारीले बताउनुभयो ।

‘माओवादी केन्द्रले माननीय मोहन खड्का ज्यूलाई माफी माग्न लगाउनु हुन्न र सदन अवरुद्ध गर्नु भयो भने भन्नु केही छैन, अवरुद्ध गरिरहोस्,’ उहाँले भन्नुभयो, ‘सदन सत्तापक्षको हुँदैन, प्रतिपक्षको हुन्छ तर प्रतिपक्षीले नै सदन चल्न नदिने हो भने सत्तापक्ष मुक्दर्शक भएर बस्नुको विकल्प छैन ।’

माओवादी केन्द्रका प्रमुख सचेतक झलकबहादुर मगरले सदनको मर्यादा कायम राख्न र सत्ताधारीको स्वेच्छाचारीतामा अंकुश लगाउन सदन अवरुद्ध गरेको बताउनुभयो ।

‘सरकारको अझै दम्भ र घमण्ड कायमै रहेकोले नै गल्ती सच्याएर सदन सुचारु गराउन चाहेको छैन,’ उहाँले भन्नुभयो, ‘माननीय मोहन खड्का ज्यूले सदनमा माफी माग्नु पर्ने कुनै कारणै छैन । उहाँले कडा आलोचना गर्नुभएको छ तर अमर्यादित रुपमा केही बोल्नु भएको छैन ।’

सत्तापक्षले प्रदेशसभा सदस्य खड्काले अमर्यादित बोलेको यदी भन्छ भने सदनमा भएको रेकर्ड सुन्न सत्तापक्षलाई चुनाती दिन चाहेको मगरले बताउनुभयो । त्यसैले मन्त्री गुरुङले सदनमा माफी माग्दै रेकर्डबाट हटाउन लगाउनुका साथै सरकारले सदनमा प्रस्तुत गरिसकेको बजेट पुनर्लेखनका लागि बनाएको समितिको बारेमा प्रष्ट नपारुञ्जेल सदन सुचारु हुन नदिने उहाँको भनाई छ ।

सत्तारुढ दल एमाले संसदीय दलको बैठकमा रातो किताबमा भएको शिर्षकहरुमा व्यापक आवाज उठेपछि प्रदेशसभा सदस्य सर्वध्वज शावाँको नेतृत्वमा ५ सदस्यीय बजेट पुनर्लेखन समिति गठन गरेको विपक्षीको आरोप छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker