विपद् न्यूनीकरणको पूर्व तयारीमा जुट्न उपप्रधान तथा गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले देशभर मनसुन सक्रिय रहेका बेला हुनसक्ने विपद्को क्षति न्यूनिकरणका लागि आवश्यक पूर्व तयारी गर्न निर्देशन दिनुभएको छ ।

आज गृहमन्त्रालयमा बसेको विपद् सम्बन्धि वैठकमा उहाँले सम्बन्धित निकायहरुलाई विपद व्यवस्थापन तथा सोबाट हुनसक्ने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्व तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो । उहाँले पूर्व तयारीका साथै, उद्धार, राहत र पुनःस्थापनाको कार्यलाई समेत उच्च प्राथमिकता दिएर काम गर्न निर्देशन दिनुभएको छ ।

राहत र उद्धारका लागि स्रोतको कुनै अभाव नहुने जानकारी दिँदै मन्त्री पौडेलले विपद्का घटना भएपछि के गर्ने भन्दा पनि पहिले नै कसरी घटनाहरूलाई न्यूनीकरण गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन आग्रह गर्नुभयो । राहत र उद्धारका लागि अन्तरमन्त्रालय र विभिन्न निकायबीचको समन्वयमा जोड दिन उहाँले सुझाव दिनुभएको छ ।

उहाँले भन्नुभयो,‘कोही छुट्ने र कोही दोहोरिने स्थिति सिर्जना हुनुहुदैन । क्षति न्यूनिकरणका लागि एकीकृत कार्य योजना ल्याउने तयारी भइरहेको जानकारी दिँदै अवरुद्ध भएका सडकलाई सञ्चालनदेखि पुनः स्थापना र पुनः निर्माणका लागि समय तालिका बनाएर काम गर्न उहाँले निर्देशन दिनुभयो ।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कोषमा पाँच अर्बभन्दा बढी रकम रहेकाले राहत र उद्धारमा स्रोतको कमी नहुने बताउनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी पहिरोलगायतले पुर्‍याएको क्षति र नोक्सानीको एकिन विवरण र आर्थिक लागत निकाली पुनःस्थापना र पुनः निर्माणका कार्यहरु अघि बढाउने तयारी भइरहेको जानकारी गराउनुभयो ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति, उर्जा, जलस्रोत तथा सिचाँई, संघीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोगका सचिव, सुरक्षा निकायका प्रमुखहरुलगायतको सहभागिता थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker