राजनीतिक दलहरू कमजोर बन्दैछन्

–यज्ञप्रसाद शर्मा ।

नेपालका राजनीतिक दलहरू दिनानुदिन कमजोर बनिरहेका छन् । उनीहरूप्रति जनविश्वास घट्ने र आलोचना बढ्ने क्रम चलिरहेको देखिन्छ । एउटा दलको मात्र कुरा होइन । नेपालका ठूला दलहरू नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र सानोमा राप्रपा एवम् नेकपाका विभिन्न घटकहरू सबै आन्तरिक विवादमा फसेका छन् ।

सबैको आन्तरिक जीवन तरल र भविष्य अन्योल देखिएको छ । अझ गम्भीर अवस्था त लोकतन्त्र र विधिको शासनको सारथी बनेका कतिपय राजनीतिक दलहरू महाधिवेशन गर्ने अवधि गुजारेर अवैधानिक जीवन बाँचिरहेका छन् । लोकतन्त्रका सारथी दलहरूले आफ्नो सांगठनिक प्रक्रियामा कमजोर देखिनु आफैंमा लाजमर्दो विषय हो ।

लोकतन्त्र र विधिको शासनको सारथी बनेका कतिपय राजनीतिक दलहरू महाधिवेशन गर्ने अवधि गुजारेर अवैधानिक जीवन बाँचिरहेका छन् । लोकतन्त्रका सारथी दलहरूले आफ्नो सांगठनिक प्रक्रियामा कमजोर देखिनु आफैंमा लाजमर्दो विषय हो ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक पटक उनकै माउ पार्टीविरुद्ध सान्दर्भिकता सकिएको भनी टिप्पणी गरेका थिए । पुराना दलहरूमाथि विश्वास घट्दै गएपछि र संगठन पद्धति नै कमजोर भएपछि फेरि यस्ता प्रश्नहरू उठाउन थालिएको छ । दलहरूको विरुद्धमा आवाज उठ्ने, तीखा टिप्पणीहरू हुने र पुराना शक्तिलाई आउ भनेर उक्साउने प्रयास बारम्बार हुने गरेको छ । जनतामा रहेको निराशा राजनीतिक दलहरूको भूमिका प्रभावकारी हुन नसक्नुको परिणाम हो । हुनत राजनीतिक दलप्रतिको असन्तुष्टी नेपालमा मात्र होइन, विश्वभरि नै छ । भारत होस् वा अमेरिकामा राजनीतिक प्रणाली र सत्तारूढ दलप्रति असन्तुष्टी बढ्न थालेको छ । बेलायत र रूसमा पनि असन्तुष्टि देखिँदै छ ।

लोकतन्त्रका लागि समर्पित राजनीतिक दलहरू दिन–प्रतिदिन कमजोर भइरहनुको कारण पहिचान गर्न विभिन्न राजनीतिशास्त्रीहरूले विभिन्न देश र परिवेशको अध्ययन गरेका छन्। ओस्लो विश्वविद्यालयकी एलिजावेथ बेक र बाइ स्कुल अफ बिजनेसका निक सिकरले सन् १९९२ देखि २०१२ सम्म राजनीतिक दल किन असफल हुन्छन् भन्ने विषयमा केन्द्रित भएर अध्ययन गरे । सन् २०१३ मा सार्वजनिक भएको उनीहरूको प्रतिवेदनमा जोखिम लिन नचाहने अर्थात जनताका सामुन्ने अप्रिय भएपनि सत्य बोल्न नचाहने भएकाले दलहरू असफल हुँदै गएको निष्कर्ष निकालिएको छ । उनीहरूको निष्कर्ष छ, पार्टीको संगठन बलियो हुँदा र अरूसँग सहकार्य गर्दा दलमाथि विश्वास बढ्छ । विभाजन र असहिष्णुले विश्वास घटाउँछ । त्यसैले दलको संगठन बलियो र कार्यक्रम जनमुखी हुनु पर्दछ । यथार्थ कुरा नबताएर जनतासँग चिप्लो कुरा गर्ने र खुशी पार्नका लागि झूठा आश्वासन बाँड्ने गर्नु हुँदैन ।

अर्का राजनीतिशास्त्री पेट्रिक लिडियान्डले सन् २०१९ मा राजनीतिक दलमा समस्या भन्ने शीर्षकमा गरेको अध्ययनको निष्कर्ष अमेरिकाको विल्सन सेन्टरमा सार्वजनिक भएको छ । नागरिकलाई अनिवार्य रूपमा मतदानमा सहभागी गराउने वातावरण बनाउन सके दलहरूप्रति विश्वास बढ्ने उनको निष्कर्ष छ । निजी–सार्वजनिक साझेदारीमा परियोजनाहरू सञ्चालन गरेर तथा दलका भातृ संगठनलाई राज्यले सहयोग गरेर राजनीतिक दललाई बलियो बनाउन सकिन्छ । उनी भन्छन्, अहिले विश्वमा जन परिचालन र जन–आन्दोलनको माध्यमबाट दलहरूको विरुद्धमा आवाज उठाउने र वैकल्पिक शक्ति निर्माण गर्ने प्रयास भइरहेको छ । तर जति गरे पनि वैकल्पिक राजनीतिक दल बन्न सकिरहेको छैन । तर, मजदुर युनियनहरू भविष्यमा राजनीतिक दलको विकल्पको बन्न सक्ने संभावना छ, उनी भन्छन् । किनकि उनीहरू संगठित हुन्छन् । आधारभूत तहका जनता उनीहरूको साथमा हुन्छन् । दलहरूको लोकप्रियता बढाउन भातृ संस्थालाई जनताको सेवामा परिचालन गर्नु र सेवा प्रवाहलाई चुस्त बनाउनु पर्ने उनको सुझाव छ ।

चिनिया अध्येता जेङ जु वाङले सन् २००३ देखि २०१६ सम्म अमेरिका, भारत, अष्ट्रेलिया, चीन, जापान र रूसको राजनीतिक अवस्था र सरकारप्रति जनताको सन्तुष्टीका विषयमा तुलनात्मक अध्ययन गरेका छन् । उनले ३१ हजार मानिसहरूको मतलाई नमूना मानेर गरेको अध्ययनको निष्कर्ष (सन् २०२० अगस्त २५मा सबचाइना डटकम अनलाइनमा प्रकाशित) छ, सरकारले शिक्षा, स्वास्थ्य र सार्वजनिक सुरक्षाको क्षेत्रमा राम्रो गरेमा लोकप्रियता हासिल गर्ने छ । तर, भ्रष्टाचार बढ्ने र नेताहरूले मतदाताको हितमा काम नगर्ने प्रवृत्ति बढेमा जनतामा असन्तुष्टी फैलिन्छ ।

नेपालका बौद्धिक अध्ययन र चिन्तन हुन थाले पनि दलहरू किन कमजोर भइरहेका छन् भन्ने विषयमा व्यवस्थित अध्ययन भएको छैन । हो, साना साना मुद्दामा जनता आन्दोलित हुने, सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति चाहिँ बढेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन अहम भूमिका खेल्ने दलहरू र त्याग एवम् बलिदानको इतिहास भएका नेताको विरूद्धमा असन्तुष्टी फैलाउने काम भइरहेको छ । सरकारले पनि अपेक्षित मात्रामा सेवा सुविधा दिन सकिरहेको छैन । भ्रष्टाचार र दण्डहिनता बढेको गुनासो छ । मानिसहरूले जिम्मेवार राजनीतिक दलसँगै नव स्थापित संघीय लोकतान्त्रिक प्रणालीविरुद्ध नै नकारात्मक टिप्प्णी गर्न थालेका छन् ।

नेपालको कुरा गर्ने हो भने यहाँको बौद्धिक वर्ग र नागरिक समाज विभाजित छ । नागरिक समाजबाट अपेक्षा गरिए अनुसारका काम हुन सकेको छैन । आमसञ्चार माध्यमको अवस्था पनि नागरिक समाजकै जस्तो कमजोर छ । यिनीहरूले नेपाली जनताको गुनासो वा असन्तुष्टी सही किसिमले प्रतिनिधित्व गर्न र जिम्मेवार निकायलाई दबाब दिन सकेका छ्रैनन् । तिनको भूमिका राजनीतिक दल र उच्च नेतृत्वविरुद्ध नकारात्मक धारणा फैलाएर आत्मतुष्टी लिनेमा सीमित छ । फलतः सरकार, दल र नव स्थापित प्रणालीविरुद्ध जनमत बनिरहेको छ । राजनीतिक दलहरू विभाजित मनस्थितिमा हुनु, आन्तरिक एकता कमजोर हुनु र नेताहरू पदीय भागबन्डामा केन्द्रित हुनु सबैभन्दा चिन्ताको विषय हो । आम सञ्चार माध्यम पनि नेताको गालीको सम्वाहक मात्र बनेका छन् । तिनका सामग्रीहरू एक अर्काप्रति गाली र नकारात्मक टिप्पणीले भरिनु र सकारात्मक कामको खोजीमा नलाग्नु गम्भीर समस्या हो ।

राजनीतिक दलहरू विभाजित मनस्थितिमा हुनु, आन्तरिक एकता कमजोर हुनु र नेताहरू पदीय भागबन्डामा केन्द्रित हुनु सबैभन्दा चिन्ताको विषय हो । आम सञ्चार माध्यम पनि नेताको गालीको सम्वाहक मात्र बनेका छन् । तिनका सामग्रीहरू एक अर्काप्रति गाली र नकारात्मक टिप्पणीले भरिनु र सकारात्मक कामको खोजीमा नलाग्नु गम्भीर समस्या हो ।

दलीय क्रियाशीलताको विश्लेषण गर्ने हो भने कतिपय दलको साँगठनिक गतिविधि शून्य छ । संगठन सुस्त छ, नेताहरू मात्र यताउता गरिरहेका छन् । उनीहरू पनि आफैं कमजोर भएकाले होला देश र जनताको निमित ठोस कार्यक्रम ल्याउन सकिरहेका छैनन् । केवल सत्तास्वार्थ र कुर्सीको मेच घुमाइमा लागिरहेको देखिन्छन् । केपी ओली नेतृत्वको एमालेको सरकार बनेपछि जनतालाई सपना देखाउने र मुलुकको भविष्यप्रति आशावादी बनाउने काम एक हदसम्म भएको हो । तर, विपक्षी दल र आन्तरिक द्वन्द्वका कारण सरकारलाई द्रूत गतिमा अगाडि बढ्न बाधा पुगिरहेको छ । पार्टीभित्रैबाट घेराबन्दी र आक्रमण सामना गर्नु परिरहेको छ । झण्डै दुई तिहाइ नजिकमा पुगेको कम्युनिष्टको सरकारले पनि काम गर्न नसकेपछि जनतामा निराशा छाएको छ । यही मौकामा एकथरी मानिसहरू सरकार र दलहरूप्रति मात्र होइन संघीय लोकतान्त्रिक प्रणालीप्रति नै औंलो ठड्याउन लागिरहेका छन् ।

अब आयो युवा पुस्ताको कुरा । दलभित्रका उर्जा भर्ने भनेकै युवा पुस्ता हो । युवा पुस्ता पनि आशातित रुपमा सक्षम देखिएका छैनन् । आम रूपमा मुखले नेतृत्व दावी गर्ने, सक्षमताको भाषण गर्ने अनि बूढा नेताको फेर समाएर पुरानै ढर्रामा रमाउने प्रवृत्ति छ । उनीहरूको छुट्टै छवि र व्यक्तित्व निर्माण हुन सकेन । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी कुनैमा पनि युवाहरू मूल नेतृत्वको विकल्पको हैसियतमा देखा परेका छैनन् । केवल विपक्षीलाई गाली गर्ने, चर्को भाषण गर्ने र हुलहुज्जत गरेर नेता खुसी पार्ने बाहेक जनजीविकाका सवालमा सम्वेदनशील भएर सशक्त रूपमा अगाडि बढ्न नेतृत्व गर्ने जमर्को गरेको पाइएको छैन । उनीहरूमा अहिलेको समयमा चाहिने महत्वपूर्ण सीप अन्तरपार्टी समन्वय कला पनि देखिएन । उनीहरूको भाषणमा नीतिभन्दा बढी गाली हुन्छन् । सकारात्मक सोच र व्यवहार भन्दा नकारात्मक सोच र व्यवहार देखिनु दुखद पक्ष हो ।

उत्तरी छिमेकी चीनबाट हाम्रा नेता र युवा पुस्ताले सिक्नुपर्ने कुरा धेरै छन् । राजनीतिक स्थिरता र दूरदर्शी सोचका साथ चीन अगाडि बढिरहेकोे छ । दल र सरकारबीच उच्च समझदारी छ । सी जिङ पिङलाई नेता मानेर जान सबै दल, नागरिक समाज र जनता तयार छन् । माओत्सेतुङपछि उच्च स्तरको विश्वास उनीप्रति देखिएको छ । त्यसैले विकासको गति र जनतामा सन्तुष्टीको मात्रा चीनमा एकदमै धेरै छ । आधारभूत तहका जनताको हितमा समर्पित भएर लाग्नु नै सफलताको द्योतक हो भन्ने कुरा चिनीयाँहरूबाट सिक्न सकिन्छ । चिनियाहरूले वदलिँदो समयको मनोविज्ञानलाई बुझेर काम गरिरहेको देखिन्छ । घरेलु स्तरभन्दा माथि उठेर विश्वस्तरमा राजनीतिक प्रभाव जमाउन आर्थिक, राजनीतिक र सामारिक रूपमा अग्रसर भइरहेको छ । राजनीतिक स्थिरता र नेतृत्वप्रतिको विस्वासबाट देश कसरी बन्दोरहेछ भन्ने उदाहरण हो चीन ।

नेपालले अवलम्बन गरेको लोकतन्त्र दलहरूले शासन सञ्चालन कलामा प्रतिस्पर्धा गरेर जनताको नजरमा अब्बल सावित हुनुपर्ने व्यवस्था हो । राजनीतिक दलले जनमुखी काम गर्नु अनिवार्य छ । दलहरूको आन्तरिक जीवनमा अन्तरपुस्ता एकता र सम्मानको वातावरण बन्नुपर्छ । राजनीतिक दलका नेता र कार्यकर्तामा सेवाभाव विकास हुनु पर्दछ । नेताको सादा जीवन नै जनताले रुचाउँछन् । महँगा गाडी र भव्य महलले जनविश्वासमा हिलो छ्याप्ने काम गर्छ । त्यागी नेतालाई सम्मान गर्ने हाम्रो संस्कार हो । अहिले राजनीतिको आवरणमा जे जस्ता विकृतिहरू देखिएका छन् त्यसको शुद्धीकरण जरुरी छ । महाधिवेशन वा यस्तै अवसरमा गम्भीर छलफल होओस् । अन्त्यमा, चिनिया दार्शनिक कन्फुसियसको सान्दर्भिक विचार मनन गरौं । ‘जनताको आँखाबाट हेर्ने र जनताको कानले सुन्ने नेता नै विश्वासिलो हुन्छ । राजनीतिक दलले आफना नेता कार्यकर्तालाई यस्तो शिक्षा दिन जरुरी छ ।’

                                                                                                                                   – yagyasarma@yahoo.com

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker