कुनैपनि योजना कटौति गरिएको छैन : मन्त्री कुसियैत

विराटनगर । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिसप्रसाद कुसियैतले कोरोना महामारीले बजेट घटेर आएकोले गत विगत वर्षमा छनौट भएका कुनैपनि योजना कटौति नगरेको बताउनुभएको छ ।

प्रदेशसभामा बिहीबार आर्थिक वर्ष २०७८/७९ को बजेटको उद्योग, पर्यटन, वन तथा वातावरण क्षेत्रको विषयगत छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री कुसियैतले यस क्षेत्रको विषयतगत छलफलमा सहभागी भएका १२ जना सांसदहरुले राखेका विचार, सुझाव, टिप्पणीलाई आत्सात गर्दै मार्गदर्शनको रुपमा लिएको बताउनुभयो ।

चालु आर्थिक वर्षमा ५० प्रतिशत बजेट कटौति भएकाले कुनैपनि योजना सञ्चालन हुन नसकेको उहाँले बताउनुभयो । ‘आउँदो वर्षमा नयाँ योजना छनौट नगरी चालु आबकै योजनालाई निरन्तरता दिने नीति अनुसार बजेट विनियोजन गरेको छु,’ उहाँले भन्नुभयो, ‘तर यो वर्षपनि बजेट घटेर आएकोले गत विगत वर्षका सबै योजनाहरुमा बजेट विनियोजन गर्न सकिनँ र कतिपय योजनाहरुमा अपेक्षित बजेट पनि विनयोजन हुन सकेन ।’

मन्त्रालयले उद्योग, वाणिज्य, आपुर्ति, पर्यटन, वन तथा वातावरण, विज्ञान, प्रविधि, भूसंरक्षण, जैविक विविधता विषयका ६२ वटा कार्यक्षेत्रमा काम गरिरहेको तर बजेट थोरै आएको मन्त्री कुसियैतको भनाई थियो ।

यस वर्ष आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको २ अर्ब ८२ करोडको सिलिङमध्ये १ अर्ब २५ करोड मन्त्रालयअन्तर्गत कार्यरत १ हजार बढी कर्मचारीको तलव भत्तामा नै विनियोजन गर्न बाध्य भएको उहाँले बताउनुभयो । बाँकी रहेको १ अर्ब ५७ करोडलाई मन्त्रालयको ६२ वटै कार्यक्षेत्रमा विनियोजन गर्न निकै सकस भएको उहाँले बताउनुभयो ।

‘बजेट कम भए पनि समानुपातिक रुपमा नै सबै क्षेत्र र जिल्लालाई समेटेर विनियोजन गरेको छु,’ मन्त्री कुसियैतले भन्नुभयो, ‘गत विगत वर्षका केही योजनाहरु बजेट मात्रै विनियोजन गर्न सकेनौ तर त्यसलाई रद्द नगरेकोले निरन्तरता दिनका लागि अझै बजेटका लागि पहल गरिरहेको छु ।’

पर्यटनतर्फ ८३ करोड ३८ लाख बजेट गरेको छ । ‘पर्यटन विकासका लागि प्रत्येक निर्वाचन क्षेत्रमा कमतिमा एउटा र हरेक भौगोलिक क्षेत्रमा १÷१ वटा ऐतिहासिक र सांस्कृति पहचिान गर्ने कार्यक्रम समेटेको छु,’ कुसियैतले भन्नुभयो, ‘त्यसैले माननीय ज्यूहरुले भन्नुभएजस्तो गुट, पार्टी, नातागोता, पहुँचका आधारमा र एकलौटी ढंगले बजेट विनियोजन गरेको देखिदैन ।’

कोरोनाले प्राथमिकताका क्षेत्र फेरिएको छ । आर्थिक रुपमा सवल नभएकाले कम बजेट भएको अवस्थामा विनियोजन गर्ने क्षेत्र बढी भएकाले आवश्यकताका आधारमा मात्रै बजेट विनियोजन गरेको उहाँले प्रष्ट पार्नुभयो ।

‘एक जना सांसदबाट अर्बभन्दा बढीको योजना मांग भएर आएको छ,’ उहाँले भन्नुभयो, ‘यसरी अहिले कायम रहेको ९२ जना सांसदले माग गरे अनुसारको योजनाहरुमा बजेट दिने क्षमता प्रदेश सरकारको भइसकेको छैन । झन यो महामारीकालमा राजश्व संकलन पनि घटेको छ ।’

५/१० लाखका योजनाहरु सम्बन्धित जिल्लाका डिभिजन वन कार्यालयबाटै सञ्चालन गर्ने व्यवस्था गर्ने कुसियैतले प्रतिबद्धता जनाउनुभयो । पहाडी तथा हिमाली जिल्लाबाट साना योजनाका लागि योजना पेस, सम्झौता, प्रगति, बीलभर्पाई ल्याउँदासम्ममा न्यूनतम ४ पटक विराटनगर आउँदा योजनाको बजेटभन्दा आउने जानेमै बढी खर्च हुनेभएकोले डिभिजन वन कार्यालयबाट सञ्चालन गर्ने नीति लिएको उहाँको भनाई थियो ।

राजनेता पार्कको लागि बजेट विनियोजन भएको तर कहाँ बनाउने स्थान र नेताहरुको नाम छनौट भइनसकेकोले सांसदहरुसँग छलफल गरेर अघि बढाउने कसुसियैतले प्रष्ट पार्नुभयो ।

उद्योग, वाणिज्य तथा आपुर्तितर्फ १८ करोड बजेट विनियोजन गरिएको छ । अल्लोलगायतका प्रदेशभित्र रहेका कच्चा प्रदार्थ प्रशोधन गरेर औद्योगिक उत्पादन गर्ने लक्ष्यका साथ बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

वैदेशिक रोजगारीबाट फर्केका र दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्नेहरुका लागि मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारी दिने व्यवस्था गरेको उहाँले स्पष्ट पार्नुभयो ।

वन्यजन्तु, वातावरण, विज्ञान तथा प्रविधि क्षेत्रमा १ अर्ब ३६ करोड बजेट विनियोजन गरेको छ । ‘घाटगद्दी गरिएका काठहरु बिक्री हुन नसक्दा कुहिने अवस्थामा पुगेको छ,’ मन्त्री कुसियैतले भन्नुभयो, ‘कैलालीको घटनाले वन क्षेत्रका काठ, दाउरा बिक्री वितरणमा संघीय सरकारले लगाएको रोक फुकुवा गरेको तर जेठ १५ गतेदेखि असार मसान्तसम्म बिक्री बितरण नगर्ने कानुनी व्यवस्था भएकोले आउँदो आर्थिक वर्षबाट व्यवस्थित रुपमा बिक्री बितरण सुचारु गर्छु ।’

वृक्षारोपण कार्यक्रम मानव जीवनका लागि पनि अपरिहार्य रहेकाले विरुवा उत्पादनमा जोड दिएको उहाँले बताउनुभयो । ‘एक घर ५ विरुवा कार्यक्रम प्रभावकारी नभएकोले दुई वर्षको विरुवा उत्पादन गरेर वृक्षा रोपन गर्ने गरी यस वर्ष वृक्षारोपण वर्षको रुपमा अभियान सञ्चालन गर्छौं,’ उहाँले भन्नुभयो, ‘डिभिजन वन कार्यालयहरुलाई चोरी, सिकारी नियन्त्रण गर्न गाडी खरिदका लागि ७५ लाख बजेट विनियोजन गरेकोलाई माननीय ज्यूहरुले अन्यथा लिनुहुँदैन किनकी त्यो आवश्यक छ ।’

मन्त्री, मुख्यमन्त्रीको क्षेत्रमा बढी बजेट विनियोजन गरेको सांसदहरुले उठाएको प्रश्न सत्य नभएको उहाँको भनाई थियो । चालु प्रकृतिका बहुवर्षीय योजनाहरुको बजेटले मात्रै बजेटको आकार बढी देखिएको उहाँले प्रष्ट पार्नुभयो ।

विषयगत छलफलमा १२ जना प्रदेशसभा सदस्यहरुले पार्टीगत, नातागोता, गुट र पहु“चका आधारमा बजेट विनियोजन गरेको र समानुपाति हिसाबले बजेट विनियोजन नगरेको लगायतका प्रश्न उठाउनुभएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker