प्रदेश १ को बजेट बहुमतले पारित

विराटनगर । प्रदेश १ आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷७९ को बजेट शुक्रबार बहुमतले पारित भएको छ ।

मन्त्री आङ्बुहाङले प्रदेशसभामा प्रदेश विनियोजन विधेयक २०७८ पारित गरियोस् भनी प्रस्ताव गर्नुभएको थियो । उहाँले गरेको प्रस्ताव सभामुख प्रदिपकुमार भण्डारीले सदनमा निर्णयार्थ प्रस्तुत गर्दा बहुमत ध्वनी मतद्वारा पारित गरेको हो ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसकोतर्फबाट प्रदेशसभा सदस्य शिवनारायण गनगाईले विनियोजन विधेयक २०७८ को बजेट शिर्षकअन्तर्गतको अर्थ विविध शिर्षकको खर्च रकमलाई घटाई १ रुपैयाँ गरियोस् भनी सदनमा प्रस्ताव गर्नुभएको थियो ।

यस्तै, विपक्षी दल माओवादी केन्द्रको तर्फबाट प्रदेशसभा सदस्य मोहन खडकाले विधेयकमा भएको बजेट शिर्षकअन्तर्गतको राजनेता पार्क निर्माण खर्च शिर्षकलाई घटाई १ रुपैयाँ गरियोस् भन्ने खर्च कटौति प्रस्ताव गर्नुभएको थियो ।

सभामुख भण्डारीले आर्थिक मामिला तथा योजना मन्त्री आङ्बुहाङलाई खर्च कटौति सम्बन्धि प्रस्तावको बारेमा प्रष्ट पार्न समय दिनुभएको थियो । मन्त्री आङ्बुहाङले बजेटमाथि घनिभूत छलफल भएकाले खर्च कटौतिको प्रस्ताव स्विकार गर्न नसकिने बताउनुभएको थियो ।

त्यसपछि सभामुख भण्डारीले खर्च कटौति प्रस्ताव फिर्ता लिन दिनुभएको समयमा गनगाई र खड्काले फिर्ता नलिएपछि सदनमा निर्णयार्थ प्रस्तुत गर्दा बहुमत ध्वनि मतले अस्विकृत भएको थियो ।
मन्त्री आङ्बुहाङले आउँदो आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाखको अनुमानित बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए ।

प्रदेशसभामा विनियोजन विधेयक २०७८ अन्तर्गतका विषयगत छलफल पनि शुक्रबार नै सकिएको थियो । शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको षियगत छलफल भएको थियो ।

विषयगत छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा सदस्यहरुकै कारण संघीयता कमजोर भइरहेको बारे सबैलाई बिचार गर्न आग्रह गर्नुभएको थियो । सदनको मर्यादालाई आँचआउने गरी नबोल्न उहाँले सबैलाई आग्रह गर्नुभएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker