तामाकोसि गाँउपालिकाको ४ वर्ष : पुर्वाधार निर्माणमा अब्बल, स्वास्थ्य क्षेत्रमा उल्लेखिय प्रगति

सुजन काफ्ले । दोलखा । करिब दुईदशक जनप्रतिनिधिविहीन बनेका स्थानीयतहले जनप्रतिनिधि प्राप्त गरेपछि सबैभन्दा आशा भौतिक पूर्वाधारमा गरेका थिए । जनतासँग प्रत्यक्ष सरोकार राख्ने बाटो, नाली, भवन र पुलपुलेसाको निर्माण गर्नुपर्ने हरेक स्थानीयतहका लागि चुनौती थियो । विकासका लागि पहिलो प्राथमिकता बाटोे नै स्थानीयको बुझाइमा विकास पर्ने गर्दछ । त्यसकारण पनि स्थानीयतहमा जनप्रतिनिधि आएसँगै जनताको पहिलो आशा भनेको बाटो र भौतिक पूर्वाधारका काम रहेको थियो ।

दोलखाको तामाकोसी गाउँपालिकाले स्वास्थ्य, कृषि तथा अन्य क्षेत्रमा जिल्लाको उदाहरणीय कार्य गर्दै भौतिक निर्माणको क्षेत्रमा समेत उल्लेखनीय कार्य गरेको पाइएको छ । सडक निर्माण, सडकको स्तरोन्नति, मर्मत तथा नाली निर्माणजस्ता काममा उल्लेख्य कार्य गर्दै आएको तामाकोसीका दूरदराजका सडकहरूले मुहार फेर्दै गएका छन् ।

तामाकोसी गाउँपालिका साबिकको भिरकोट, झुले, जफे, मालु, हाँवा, च्यामा, सहरे गाउँ विकास समितिहरू मिली बनेको गाउँपालिका हो । स्थानीयतह निर्माणसँगै विभिन्न चुनौतीहरूको सामना गर्दै भौतिक निर्माणमा उल्लेख्य कार्य गरेको गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए । गाउँपालिकाले सात वटै वडामा पिकनिक पार्क निर्माण गरिसकेकोे छ । पालिकाले ज्येष्ठ नागरिकको मन भुलाउनका लागि एउटा खुसियाली घरसमेत निर्माण सम्पन्न गरिसकेको अध्यक्ष पोखरेलले बताए ।

गाउँपालिकालाई खेलकुद हबको रूपमा विकास एक वडा एक खेलमैदान निर्माणसमेत सम्पन्न गरिसकेको छ भने वडा–५ सहरेमा मिनी रंगशालाको निर्माण सम्पन्न गरेको अध्यक्ष पोखरेलले बताए । पालिकाले कृषि क्षेत्रको विकासको लागि र कृषकको प्रत्यक्ष सरोकार राख्ने चिस्यान केन्द्र सबै वडाका निर्माण सम्पन्न गरिसकेको छ ।

खानेपानी र सिँचाइका लागि भिरकोट, जफे र मालुमा लिफ्टिङमार्फत खानेपानी वितरण गर्ने योजनाको काम अन्तिम चरणमा पुगेको छ भने वडा–५ सहरमा बृहत् खानेपानी योजनाको काम धमाधम भइरहेको छ । गाउँपालिकाले ६ वटा वडामा वडा कार्यालय निर्माण सम्पन्न गरिसकेको छ भने एउटा वडामा निर्माण भइरहेको छ । त्यस्तै पालिकाले ६ वटा स्वास्थ्यचौकी निर्माण सम्पन्न गरेको छ भने एउटा स्वास्थ्यचौकी धमाधम निर्माण भइरहेको छ । पालिकाको वडा–४ मालुमा भिडियो एक्स–रे, ल्याब सहितको अस्थायी कोभिड अस्पतालको स्थापना गरेको तामाकोसी गाउँपालिकका स्वास्थ्य संयोजक अरुणकुमार मिश्रले बताए । अस्पतालमा एमबिबिएस डाक्टर सहितका स्वास्थ्यकर्मीहरूको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker