जनै पूर्णिमाका तीन पाटा

डिएन पथिक
विराटनगर । हिन्दुधर्मालम्बीहरुले आज जनै पूर्णिमा र रक्षाबन्धन पर्व धुमधामका साथ मनाइरहेका छन् । यो पर्वको तीन पक्ष ‘यज्ञोपवीत, रक्षाबन्धन र अध्यायोकर्मांग ऋषितर्पणी रहेको छ ।

हिन्दू धर्मका वैदिकग्रन्थ अनुसार जनैलाई ब्रह्मसूत्र अर्थात वेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ। जनैको शिखाहरू मध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकको योग मानिन्छ ।

वेदाध्ययन गर्नेहरुले विधिपूर्वक जनै मन्त्रन बिहान सबेरै आ–आफ्ना गुरु पुरोहितकहाँ जाने गर्दछन् । नदी, तलाउमा स्नान गरेर यज्ञोपवित संस्कार गरी जनै धारण गर्ने र वर्षभरि आवश्यक हुने जनै मन्त्रित गरेर राख्ने परम्परा रहेको धर्म शास्त्रीहरु बताउनु हुन्छ ।

जनै पूर्णिमाको अर्को पक्ष भनेको रक्षाबन्धन हो । गुरु, पुरोहितहरुले ‘येन बद्धो वलिः राजा दानवेन्द्रो महावलः । तेन त्वां प्रतिबध्नामि रक्ष मा चल मा चल ।।’ मन्त्रोच्चारण गरी यजमान तथा सर्वसाधारणलाई रक्षा कवचको रुपमा दाहिने हातमा धागो बाँध्ने चलन छ । सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ।

मधेस तथा मिथिला क्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई रक्षाबन्धन बाँधेर मिठाइ खुवाउने परम्परा रहेको छ । रक्षाबन्धनका दिन विवाहित दिदीबहिनीले दाजुभाइको घरमा आएर रक्षाबन्धन बाँध्ने संस्कार छ । दिदीबहिनीले रक्षाबन्धन बाँधेर जीवन रक्षाका साथै हरेक पाइलामा विजयको कामना गरेपछि दाजुभाइले दिदीबहिनीलाई जीवनभरि रक्षा गर्ने शुभाशिर्वादसहित बचन दिने र आ–आफ्नो क्षमता अनुसार उपहार दिने परम्परा छ ।

जातीय, वर्गीय र धर्मको नाममा विभक्त अहिलेको समाजमा रक्षाबन्धन पर्वले सदभावन कायम गर्ने सुत्रको रुपमा पनि रहेको छ । एउटै समाजमा बसेको बिभिन्न धर्म, जाती र वर्गका दाजुभाइलाई विपरित धर्म, जाती र वर्गकी दिदीबहिनीले रक्षाबन्धन बाँधेर जीवन रक्षाका साथै हरेक पाइलामा विजयको कामना गरेपछि उहाँहरुले पनि हरेक दुःखकष्टमा जीवन रक्षा गर्ने बचन दिने परम्परा छ । यसले समाजमा हुने महिला हिंसा, बलत्कारजन्य घटना न्यूनीकरणको सुत्रको रुपमा पनि यस पर्वलाई लिइन्छ ।

राजा इन्द्र दानवबाट पराजित भएर वैदिक संस्कारहिन जीवन विताइरहेको अवस्थामा दानवहरुसँग अन्तिम युद्ध लड्न जानुअघि इन्द्रानीहरु अर्थात् इन्द्रकी पत्नीहरुले रक्षाबन्धन बाँधेर विजयको कामनासहित युद्ध पठाएको र विजय प्राप्त गरेकोले पत्नीले पनि पतिलाई रक्षाबन्धन बाँध्ने परम्परा छ ।

जनै पूर्णिमाको तेस्रो पक्ष भनेको अध्यायोकर्मांग ऋषितर्पणी हो । यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि (कश्यप, अत्री, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ। ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषीहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्रकार्य सम्पादन गरिन्छ । अतः श्रावण शुक्ल पूर्णिमाका दिन अध्यायोपाकर्म (स्वाध्यायाध्ययनारम्भ) गरेर वेदोक्त पञ्चमहायज्ञको जग बसाउने काम गरिन्छ । यस कर्मलाई ब्रह्मयज्ञ आरम्भ गरेर मनाइन्छ । ब्रह्मयज्ञ अन्य पञ्च महायज्ञहरूको आत्मा पनि भएकाले अन्य यज्ञहरू गर्न नसक्नेहरूले ब्रह्मयज्ञ सम्पन्न गर्दा अन्य सबै यज्ञहरू गरेको फल प्राप्त हुने शास्त्रमा वर्णन गरिएको छ ।

धर्म शास्त्र अनुसार यमदूतले आफ्नी बहिनी यमुनासँग राखी बाँध्नेपछि जसले यस पवित्रताको राखी बँधाउछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुने बचन दिनुभएको थियो । त्यसैले रक्षाबन्धन एक धार्मिक उत्सव पनि हो । जसको सम्बन्ध जीवनमा श्रेष्ठता एवं निर्विकारितासँग छ । यसकारण यस पर्वलाई विषतोडक पर्व पनि भनिन्छ ।

हरेक व्यक्ति सांसारिक बन्धनबाट मुक्त हुन चाहना राख्ने गरेका छन् र ईश्वरीय बन्धनमा बाँधिन चाहन्छन् किनकि ईश्वरीय बन्धन काल्पनिक र सुखदायी बन्धन हो। रक्षाबन्धन यसैको प्रतीक पनि हो । स्वयंको रक्षा गर्नको लागि पवित्रताको बन्धनमा बांधिनुपर्छ । भनिन्छ कि यो बन्धन दशैंसम्म बांध्ने जबसम्म दश विकार माथि विजय प्राप्त गरेर दशमी मनाईंदैन तबसम्म यो पवित्रताको बन्धनमा बांधिनु पर्ने आवश्यकता छ किनकि पवित्रताको धारणा आत्मिक स्थितिमा स्थित भएमा मात्र गर्न सकिन्छ । यसकारण यसदिन पहिला बहिनीले भाइलाई टीका लगाइदिन्छन् र स्थूल सामग्री दिनुको वास्तविक अर्थ खराब चिजको दान गर्ने प्रतीक हो ।

रक्षाबन्धन मर्यादा र आत्मा निग्रहद्वारा मृत्युमाथि विजय प्राप्त गर्ने पर्व हो । रक्षासूत्रको बन्धन र टिका यस उत्सवको प्रमुख विधान हो । सूत्र आत्माको मर्यादा र संयमको प्रतीक हो र टिका आत्म स्वरुप स्थितिमा स्थित हुने प्रतीक हो । सूत्र कुनैपनि वस्तुलाई अविच्छिन गर्ने वस्तु हो । सुनियोजित एवं सुव्यवस्थित वस्तु एक सूत्रमा ग्रन्थित मानिन्छ । रक्षाबन्धनको सही अर्थ आफू आत्म स्थितिमा अचल भएर पवित्रताको पालना गर्नु हो किनकि पवित्रताद्वारा नै मृत्युमाथि विजय प्राप्त गर्न सकिन्छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker